गृहपृष्ठ मुर्दावाद- जिन्दावाद (कविता)
मुर्दावाद- जिन्दावाद (कविता)
चामे,
भोकले सुकेको आन्द्रा सारङ्गी रेटेझैँ रेटिरहेछ
मेटाइरहेछ प्यास आफ्नै नुनिलो आँसुले
ढाकिरहेको छ इज्जत मन च्यातेर
र, दौडिरहेको छ
सपना बाँड्नेहरुको पछिपछि ।
कसैको भान्सामा वासमती मगमगाउँदा
बासना सुँघेर चित्त बुझाउँछ ।
थुक निलेरै पेट भर्छ ।
हेरेरै मन अघाउँछ ।
चामेको घरको चुल्हो कहिल्यै बलेन ।
घाम कहिल्यै उदाएन उसको आङमा
न जून आइपुग्यो मुसकुराउँदै
आँगनमा !
उसलाई न वाद थाहा छ न सिद्दान्त,
न तन्त्र थाहा छ न मन्त्र ।
उसलाई थाहा छ त केवल
कोक्याइरहेको भोको पेट ।
प्याकप्याक्ती सुकेको घाँटी ।
अनिदो आँखा ।
र, चहराइरहेको गरिबीको घाउ !
त्यही भोको पेटमाथि
वर्षौँदेखि लात बजारिरहेछन्
एकथरी मान्छेहरू
एक हूल झुन्ड दौडन्छ
राता झन्डाहरु फर्फराउँदै
वाद र सिद्धानतको ठेली बोकेर आइपुग्छ ।
दुखिरहने समय
र, चिमोटीरहन्छ भग्नावशेष आस्थाहरुले
चामे भोको पेटले
लगाइरहेछ समानताको नारा
अघाएकाहरुको हुलमा मिसिएर
सुनिरहेको छ बर्गिय मुक्तिको चर्को भाषण
र,सकिनसकि चिच्याइरहेछ
मुर्दावाद…! जिन्दावाद…!!
जिन्दाबाद … !! मुर्दावाद…!!!
यो पनि पढ्नुहोस्
प्रकाशित समय १३:३३ बजे

















