गृहपृष्ठ कांग्रेसको चेतावनी वेवास्ता गर्दै वीरगञ्जमा सहिद पार्क शिलान्यास
कांग्रेसको चेतावनी वेवास्ता गर्दै वीरगञ्जमा सहिद पार्क शिलान्यास
प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित घण्टाघरमा निर्माण गरिने सहिद पार्कको शिलान्यास गरेका छन् । मुख्यमन्त्री तथा प्रदेश-२ का भौतिक पूर्वाधार विकासमन्त्रीले संयुक्त रूपमा उक्त सहिद पार्कको शिलान्यास गरेका हुन् ।
यद्पी नेपाली कांग्रेस पर्साले भने मधेसी सहिद पार्क नाम दिइएको उक्त पार्कको निर्माणमा असहमति जनाउँदै आएको थियो । उक्त स्थानलाई यसअघि विपी उद्यान नामाकरण गरिएको भन्दै परिवर्तन गरी सहिद पार्क नबनाउन कांग्रेसले चेतावनी दिएको थियो ।
मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस पर्साले त्यस स्थानमा सहिद पार्क नबनाउन कडा चेतावनी दिएको थियो । यद्यपी बुधबार मुख्यमन्त्रीले सोही स्थानमा सहिद पार्कको शिलान्यास गरे । यद्यपी बुधबार भने कांग्रेसले विरोधका कार्यक्रम गरेन ।
शिलान्यासका क्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको दावी गरे । उनले विकासका कार्यमा सबै दल, जात, धर्म र समुदायभन्दा माथि उठ्न आवश्यक रहेको बताए ।
उता प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले वीरगञ्जमा मात्र नभई सप्तरीको मलेठ तथा सिराहाको लाहानमा पनि सहिद पार्क बनाइने उल्लेख गरे ।
प्रकाशित समय १५:१९ बजे

















