गृहपृष्ठ एकै पटक ४० अर्बका नयाँ नोट छाप्दै राष्ट्र बैंक

एकै पटक ४० अर्बका नयाँ नोट छाप्दै राष्ट्र बैंक

NRS 100_NewsKarobar

नेपाल राष्ट्र बैंकले पुनः १०० का नोट छपाउने भएको छ । राष्ट्र बैंकले १०० दरका ४० करोड थान नोट छाप्ने गरि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले एकै पटक ४० अर्ब रूपैयाँबराबरको नयाँ नोट छाप्न लागेको  हो । बोलपत्रमा नोट छपाउन इच्छुक कम्पनीहरूलाई एक महिनाका म्याद दिइएको छ ।

राष्ट्र बैंकले एकै पटक यत्रो रकम किन छाप्न लाग्यो भन्ने प्रश्न उब्जिएको छ । सामान्यतयाः मुद्रा प्रवाह बढाइ आर्थिक क्रियाशीलता बढाउन नोट छाप्ने गरिन्छ, तर यसरी धमाधम नोट छाप्दा मुद्रास्फीति भने बढ्न जाने जोखिम हुन्छ । हाल मुद्रास्फीति ५ प्रतिशतभन्दा कमै भएकाले अर्थतन्त्रमा ताप उत्पन्न गर्नेगरि राष्ट्र बैंकले नयाँ नोट छाप्ने तयारी गरेको देखिन्छ ।

गत वर्ष पनि राष्ट्र बैंकले व्यापक नोट छापेको थियो । गत वर्ष राष्ट्र बैंकले रु. ५०० दरको १० करोड थान, रु. ५० दरको ९ करोड थान, रु. २० दरको ५ करोड ८० लाख थान, रु. १० दरको २४ करोड थान, रु. ५ दरको २६ करोड थान छापेको थियो । चालू आर्थिक वर्ष पहिला ६ महिना एकीकृत विवरण भने राष्ट्र बैंकले सार्वजनिक गरेको छैन ।

मुलुकमा चलनचल्तीमा रहेका नोटको परिमाण प्रत्येक वर्ष बढ्दै गएकोछ । राष्ट्र बैंकले नयाँ नोट छाप्दै बजारमा पठाउँदै जाँदा चलनचल्तीमा रहेका नोट बढ्दै गएको हो । आर्थिक वर्ष २०७२/७३ मा रु. ३ खर्ब ८६ अर्ब १६ करोड चलनचल्तीमा रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा बढेर रु. ४ खर्ब ३० अर्ब ९९ करोड हुँदै २०४७/७५ मा रु. ४९४ अर्ब ३८ करोड पुगेको थियो । २०७५ असोजमा चलनचल्तीमा रहेका नोट ५ खर्ब ३२ अर्ब ३३ करोड रूपैयाँ बराबर पुगिसकेको छ । त्यसमध्ये राष्ट्र बैंकसँग ५ अर्ब ३६ करोड रूपैयाँमात्र सञ्चितिमा छ ।

राष्ट्र बैंकले चलनचल्तीमा अयोग्य नोटहरू भने संकलन गरी जलाउने गरेको छ । गत आवमा राष्ट्र बैंकले ५६ अर्ब ३६ करोड २७ लाख रूपैयाँबराबरको खोटा नोट जलाएको थियो । यसरी जलाएको खोटानोटबराबर राष्ट्र बैंकले पुनः नयाँ नोट छापेर बजारमा पठाउँछ ।

 

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु