गृहपृष्ठ विराटनगर बस टर्मिनल सञ्चालनमा
विराटनगर बस टर्मिनल सञ्चालनमा
नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । विराटनगर- ११ स्थित पुरानो बसपार्कलाई भत्काएर निर्माण गरिएको सो बस टर्मिनलको प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले बुधबार एक समारोहबीच उद्घाटन गरे ।
सो अबसरमा मुख्यमन्त्री राईले संकल्प गर्ने हो भने विकास निर्माणका तोकिएको काम समयमै पूरा हुने उदाहरण विराटनगर महानगरपालिकाले प्रस्तुत गरेको भन्दै निर्माण कार्यको प्रशंसा गरेका छन् । उनले तोकिएकै समयमा विराटनगर बस टर्मिनल निर्माण सकेर महानगरले नमुना कार्य गरेको दावी गरे ।
मुख्यमन्त्री राईले कुनै पनि विकास निर्माणका काम गुणस्तरमा आधारित हुनुपर्ने बताउँदै पूर्वाधारहरुको सही सदुपयोग गरिनुपर्ने बताए । उनले संरचनाहरु निर्माणपश्चात त्यसलाई टिकाइरहन चुनौती रहेको भन्दै टिकाउका लागि सबै पक्षले ध्यान दिनुर्पे बताए ।
मुख्यमन्त्री राईले विराटनगरमा प्रादेशस्तरको वसपार्क आवश्यक रहेको रहेको बताउँदै प्रादेशिक बसपार्क निर्माण कार्य सुरु गरिहाल्नुपर्ने बताए ।
कार्यक्रममा नगर विकास कोषका अध्यक्ष ध्रुब रिजालले नव निर्मित बस टर्मिलन व्यवस्थित रुपमा सञ्चालन गर्न निजि क्षेत्रलाई ठेक्का दिनुपर्ने सुझाव दिए । उनले सो बस टर्मिलनमा शयन कक्ष लगायतका केही कक्ष थपिनु पर्ने बताउँदै त्यसका लागि नगर विकास कोष सहयोगका लागि तयार रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवनसहित पूर्व क्षेत्रकै नमुनाको रुपमा ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको सो बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न मिल्ने बताए । उनले पुरानो बसपार्क जस्तो धेरै समय सम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तब्य तर्फ लगि हाल्नुपर्ने गरी आधुनिक बस टर्मिनल निर्माण गरिएको जानकारी दिए ।
उनले नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले बस टर्मिनल निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएकोमा तोकिएकै समयमा सो कम्पनीले काम पूरा गरेको बताए ।
बुधबारदेखि सञ्चालनमा ल्याइएको बस टर्मिनलनमा ब्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्याग राख्ने कोठा, सार्वजनिक शौचालय हुनेछन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतिक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहने जनाइएको छ ।
साउन महिनाको पहिलो साता नै निर्माण सम्पन्न गरेर निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाले महानगरपालिकालाई जिम्मा लगाए पनि महानगरको ढिला सुस्ति र छ लेन सडकले निर्माण गर्ने ढलका कारण बस टर्मिनल सञ्चालनमा आउन सकेको थिएन ।
टर्मिनल सञ्चालनसँगै वर्षाको बेला पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले राहत पाउने आशा गरिएको छ ।
प्रकाशित समय १८:३२ बजे

















