गृहपृष्ठ प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो

प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो

debendra_paudel

सत्तरूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टी अध्यक्ष प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आएको बताएका छन् ।

भेनेजुएलामा जारी राजनीतिक संकटकाबीच अध्यक्ष प्रचण्डले भेनेजुएलाका पक्षमा केही कडा वक्तव्य प्रकाशित गरेको थियो । उक्त वक्तव्यका कारण नेपाल-अमेरिका सम्बन्धमा चीसो पस्ने धेरैले विश्लेषण गरेका थिए । सोही विषयलाई लिएर अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो । यसरी प्रचण्डको वक्तव्यकै कारण नेपाल-अमेरिका सम्बन्धमा दरार उत्पन्न हुनसक्ने आशंकाका बीच नेता पौडेलले यस्तो बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता पौडेलले प्रचण्डको वक्तव्य नै आधिकारिक रहेको टिप्पणी गरे । वक्तव्य जारी गरेर प्रचण्डले भयानक गल्ती गरेको भन्ने विश्लेषण भइरहँदा उनले त्यसको खण्डन गरे ।

‘अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ,’ उक्त कार्यक्रममा पौडेलले भने, ‘राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

समस्या समाधान भइसकेको र बाहिर प्रचार भएजस्तो नभएकोतर्फ संकेत गर्दै पौडेलले भने, ‘सबै कुरा मिलिसक्यो। सहमति भैसक्यो । अब यसलाई अनावश्यक रूपमा उचाल्नु हुँदैन ।’ प्रचण्ड र अमेरिकी राजदूतबीच तीन घण्टा कुराकानी भएको जानकारी दिँदै पौडेलले सबै समस्या हल गरेर जाने सहमति भएको उल्लेख गरे ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु