गृहपृष्ठ त्यो बटौली, यो बुटवल
त्यो बटौली, यो बुटवल
विकासमा फड्को मार्दै गरेको एउटा सहरको कथा
बटौली एउटा सहर । बटौली भन्दा वित्तिक नुन र घ्यूसँगको नाता अहिले पनि पाका पुस्ताको मानसटलमा ताजै छ । विकास निर्माणले गति लिँदै जाँदा बटौली तत्कालीन खस्यौली हुँदै अहिले बुटवलमा परिणत भएको छ ।
बुटवलले पश्चिम नेपालको प्रमुख व्यापारिक, शैक्षिक नगरीको रुपमा पहिचान बनाएको छ । यस्तै अहिले प्रदेश-५ को अस्थायी मुकाम पनि बुटवल नै हो । जसका कारण यसको थप रौनकता बढेको छ ।

बुटवलको वडा नम्बर १ र २(पारी बुटवल) मा अहिले पनि ति समयका पुराना पसलहरु छन् । तिमध्ये कतिपय भत्किएका छन् । त्यसबखत गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान र स्याङ्जाबाट हप्तौं लगाएर घ्यूसँग नुन साट्न यस क्षेत्रमा भारी बोकेर आउँथे । नुन तथा चामलसँग ती जिल्लाबाट आएकाहरूले घिउका टिन साट्थे । उनीहरू केरा, तरुल, सखर खण्ड, कोदो मकै जस्ता खाद्यान्नहरू बोकेर ल्याउँथे र आवश्यक वस्तु त्यसैसँग साटेर लान्थे । त्यसबखतको भनाई अझै पनि चर्चित छ ‘सुका माना घिउ’ ।

गह्रुंगो भारी किनमेलका लागि बजार झर्ने क्रममा वि.सं. २०४० पछि मोटरबाटो सुरू भएपछि कमी आयो । त्यसपछि बजार विस्तारै सहरमा रूपान्तरित भए ।
बुटवल उपमानगरपालिकाले तत्कालीन खस्यौली बजारलाई सांस्कृतिक प्राचिन सहरको रुपमा विकास गर्ने योजना अगाडि बढाएको छ । अहिले जे जस्तो अवस्थामा छ, सोही अवस्थामा नै अन्य आधरभूत विकास निर्माणका कार्यहरु गरी ट्रेकिङ्ग सिटीको रुपमा विकास गर्ने उपमहानगरको योजना छ ।
उपमानगरपालिका प्रमुख शिवराज सुवेदीले यसका लागि अध्यायन अघि बढेको जानकारी दिए । पैदलमार्गीहरुको लागि पैदलमार्ग निर्माण गरी प्राचिन सभ्याता झल्काउने ढुङ्गाहरुसहित मौलिकता प्रदान गर्न लागिएको सुवेदीको भनाइ छ ।
बुटवल उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा बुटवलका पुराना कपडा ब्यवसायी जीवनप्रसाद ओझा २०२५ सालअघि आफ्ना बुबाले कपडाको व्यापार गर्दै आएको सम्झन्छन् । उनका अनुसार तत्कालीन कपडा व्यापारीका रुपमा कर्णकुमार हेजु, महेशप्रसाद श्रेष्ठ, महेशकुमार राज भण्डारी चर्चित थिए । जसका सन्ततीहरुले अहिले पनि व्यापार गरिरहेका छन् ।
बुटवलबाट सामानहरु भालुबाङ्ग सम्म लैजाने र त्यहाँबाट भरिया र खच्चडबाट कपडा र नुन चामल बोकाएर दाङ, प्युठन, रुकुम रोल्पा सम्म लैजाने गरेको बुटवल उद्योग बाणिज्य संघका अर्का पूर्वअध्यक्ष तथा पुराना व्यवसायी हिरा प्रसाद श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार विक्रमको बिसौं शताब्दी अघिदेखि २०३६/०३७ साल सम्म तत्कालीन बटौली र खसौलीको त्यो ब्यापार चलिनै रहेको थियो । त्यसयता सिद्धार्थ राजमार्ग खुल्यो र पाल्पा सम्म गाडी चल्यो । २०३७/०३८ सालमा पाल्पाबाट रिडी सम्म मोटरबाटो खुल्यो । त्यसअघि पाल्पा र रिडीको ब्यापार बढ्यो । २०३९ साल तिर तम्घास सम्म मोटरबाटो खुल्यो त्यसपछि ब्यापारमा विकेन्द्रिकरण भएको हो ।
बुटवल उपमानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट पुस्तिकामा नै व्यवस्था गरी गुरुयोजना निर्माण गर्ने जनाएको छ । ‘ऐतिहासिक बटौली क्षेत्रमा रहेका परम्परागत धार्मिक एवं पुरातात्विक सम्पदाहरुको संरक्षण तथा हाउस पुलिङ्ग सम्बन्धी गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने नीति लिईने छ,’ उल्लेख गरिएको छ ।
नगर प्रमुख सुवेदीले नेपालकै नमुना ऐतिहासिक सहरको रुपमा बटौलीको विकास गरिने दृढता व्यक्त गर्छन् । उनी भन्छन्, ‘नेपालकै नमुना ऐतिहासिक पौराणिक सहरको रुपमा विकास गर्ने हाम्रो योजना हो, सोही अनुसार कार्ययोजना बनाएर अगाडि बढेका छौं ।’
उपमहानगरले वडा भरी सोलार वत्ती जडान गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै पुरानो बटौलीलाई पर्यटकीय एवं ऐतिहासिक बजारको रुपमा विकास गर्न सर्वे अध्ययन १ करोड रुपैयाँ विनियोजन गरेको छ । सोही क्षेत्रमा पर्ने तिनाउ कोरिडोर निर्माणका लागि थप ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
तत्कालीन पुरानो नगरपालिका भवन रहेको भवनलाई बटौली संग्रहालय तथा बहुउद्देश्यीय भवन निर्माण (पुरानो न.पा. भवन) २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै जितगढी किल्ला संग्रहालय निर्माण २ करोड रुपैयाँ विनियोजन गरेर कार्य अगाडि बढाएको छ ।
प्रकाशित समय १८:४३ बजे
















