गृहपृष्ठ मन्त्री अधिकारीसहितको श्रद्धाञ्जली अपरान्ह ३ बजेदेखि
मन्त्री अधिकारीसहितको श्रद्धाञ्जली अपरान्ह ३ बजेदेखि
हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनाएको छ ।
नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० मयामको तारेभिरमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री अधिकारी र उनका अंगरक्षकबाकेह अन्य पाँच यात्रुको शव पहिचान हुन सकेको छैन । अन्य यात्रुको शव जलेको अवस्थामा फेला परेकाले चिन्न सक्ने अवस्थामा नरहेको बताइएको छ ।
मृतकहरुको सनाखत (शव पहिचान) र पोष्टमार्टम भएपछि मात्र अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइन्छ । शवलाई काठमाडौं ल्याएपछि परिवारका सदस्यहरुले पनि शव पहिचान गर्न नसकेमा डीएनए रिपोर्ट मार्फत सनाखत गर्नुपर्ने हुन्छ ।
मन्त्री अधिकारीको अन्त्येष्टि भने शुक्रबार उनको गृहनगर पोखरामा हुनेछ । नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।
बुधवार १२ बजेर ३५ मिनेटमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री अधिकारी, उनका अंगरक्षक अर्जुन घिमिरे, पर्यटन ब्यवसायी आङछिरिङ्ग शेर्पा, नागरिक उड्डयन प्रधिकरणका उप-महानिर्देशक वीरेन्द्र श्रेष्ठ, नागरिक उड्डयन प्रधिकरणका निर्देशक ध्रुवदास भोछिभोया, उप-सचिव युवराव दाहाल र क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको हो ।
प्रकाशित समय १४:३० बजे

















