गृहपृष्ठ अधिकारीको जीवन सधैं सफल रह्यो, उहाँ बेदाग भएर जानुभयो : मनिष सुमन
अधिकारीको जीवन सधैं सफल रह्यो, उहाँ बेदाग भएर जानुभयो : मनिष सुमन
फाइल तस्बिर
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय रविन्द्र अधिकारी अत्यन्तै असल नेता रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले अधिकारी व्यक्तिगत रुपमा धेरै राम्रो व्यक्ति रहेको समेत बताए ।
उनले भने, ‘मेरो उहाँसँग गत माघ १७ गते अन्तिम भेट भएको थियो । त्यो पनि विमानस्थलमा । मैले त्यो भेटमा जनकपुर एयरपोर्टमा रात्रिकालीन सेवाको लागि आग्रह गरेको थिएँ । उहाँले तत्पश्चात् काम गर्नुभयो । उहाँ बोलेको कुरा पूरा गर्ने नेताको रुपमा चिनिनुहुन्थ्यो ।’
सुमनले आफूहरु धेरै कार्यक्रममा सँगसँगै रहेको पनि सुनाए । उनले भने, ‘उहाँ र म एउटै कोठामा पनि सुतेका छौं । उहाँ विकासप्रति निकै गम्भीर हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि मधेशको विरोधमा बोल्नुभएन । बरु, पार्टीले हामीलाई तथानाम गाली गर्दा त्यसको विरोधमा सार्वजनिक रुपमै दुःख व्यक्त गर्नुभएको थियो ।’
सिँगो मधेश नै अधिकारीको व्यक्तित्व र विचारबाट प्रभावित बनेको सुमनले सुनाए । उनले भने,‘उहाँ विकासप्रति दुरदृष्टि राख्ने नेता हो । अत्पआयुमै निधन भएकोले राष्ट्रलाई ठूलो क्षति पुगेको छ । सिँगो देशलाई यो ठूलो क्षति हो ।’ स्वर्गीय अधिकारी विलाषिताभन्दा धेरै टाढा रहेको पनि उनले सुनाए ।
फरक प्रसँगमा उनले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै सरह भएको पनि स्पष्ट पारे । उनले भने, ‘यो सरकारको कुनै पनि कृत्य र कू-कृत्यसँग हाम्रो कुनै साइनो छैन । सरकार गठन गर्दा फागुन ३ गते उहाँहरु सरकारलाई समर्थन गर्नुहोस भन्दै भीक्षा माग्न आउनुभएको थियो । तर, सरकारले अहिलेसम्म हामीसँग गरेको वाचा र सहमति पालना गरेन । अहिलेसम्म यो सम्बन्धमा कुनै नवीकरण भएन ।’
प्रकाशित समय १९:३० बजे

















