गृहपृष्ठ देवदह नगरपालिकाले किसानलाई सोध्यो– कस्ता–कस्ता कार्यक्रम र योजना चाहनुहुन्छ ?
देवदह नगरपालिकाले किसानलाई सोध्यो– कस्ता–कस्ता कार्यक्रम र योजना चाहनुहुन्छ ?
बुटवल– रुपन्देहीको देवदह नगरपालिकाले पाहिलोपटक किसानसँग अन्तक्र्रिया गरेको छ । आगामी आर्थिक वर्षमा के–कस्ता कार्यक्रम र योजना समेट्न सकिन्छ भन्ने विषयमा नगरपालिकाले किसानसँग अन्तक्र्रिया गरेको हो ।
देवदह नगरपापालिकाका प्रमुख हीराबहादुर खत्रीले किसानहरुको क्षेत्रमा काम गर्ने दायित्व स्थानिय तहमा आएपछि सुझाव संकलन कार्यक्रम गरिएको बताए । देवदह नगरपालिका –११, सिक्टहनमा पर्यटन, कृषि र पूर्वाधार, समृद्ध देवदहको मूल आधार भन्ने नारासहित नगरपालिकाले कृषकबाट सुझाव संकलन गरेको हो । किसानहरुले बीउ, मल र सिँचाइमा कृषकलाई आत्मनिर्भर बनाउन सके कृषिक्षेत्रले देवदहले फड्को मार्ने सुझाव नगरपालिकालाई दिएका छन् ।
वास्तविक किसान पहिचान गरी नगरपालिकाले अनुदान वितरण गर्दा कृषिमा आत्मनिर्भरता बढ्ने उनीहरुको भनाइ छ । बजार व्यवस्थापन र कोल्डस्टोरको व्यवस्था मिलाउन सके आफूहरुले निर्धक्क भएर उत्पादन बढाउन सक्ने उनीहरुले बताए ।
देवदह कृषक मूल समितिका अध्यक्ष चक्रपाणि न्यौपानेले नगरपालिकाले रासायनिक मल कटौती गरी जैविक मलतर्फ कृषकलाई आकर्षित गराउनुपर्ने धारणा राखे । ‘बाँझो खेत राख्नेलाई कारबाहीको व्यवस्था तर्जुमा गर्न आवश्यक छ,’ उनले भने ।
कार्यक्रममा साना किसान कृषि सहकारी सिक्टहनका अध्यक्ष अजयकुमार गुप्ताले नगरपालिकाले माटो परीक्षण गराउने नीतिको व्यवस्था गरी कृषकलाई माटो सुहाउँदो बाली उब्जाउ गर्न सुझाव दिनुपर्ने बताए । त्यस्तै, देवदह–८ का किसान त्रिलोचन दाहालले कुलोमाथि घर बनाउने परिपाटीको अन्त्य हुनुपर्ने भनाइ राखे । सबैको सुझाव सुनिसकेपछि नगरपालिकाका प्रमुख खत्रीले किसानका समस्या समाधान र सुझाव कार्यान्वयनतर्फ सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा देवदह–११, सिक्टहनका किसानलाई साना सिँचाइ आयोजनाअन्तर्गत ६ थान सिँचाइ पम्पसेट उपलब्ध गराइएको थियो ।
प्रकाशित समय १३:१४ बजे

















