गृहपृष्ठ ड्रममा तरकारी खेती ! जग्गा नभए के फरक पर्छ ?
ड्रममा तरकारी खेती ! जग्गा नभए के फरक पर्छ ?
काठमाडौं । महँगो तरकारी दैनिक किन्नु पर्दा शहरवासी हैरान भएका हुन्छन् । पर्याप्त जमिन नभएकाले आफैंले खेती गरेर परिवारलाई पुग्ने गरी तरकारी फलाउनु असम्भव प्राय छ । यद्यपी केहीले भने कौसी वा गमलामा एकदुई वटा बिरुवा रोपेर तरकारी फलाएका पनि छन् । तर त्यसले दुई छाकभन्दा बढी धान्दैन् ।
विज्ञानको अगाडि कुनै पनि चिज असम्वभ छैन् । कृषिमा बढ्दो आधुनिकरण र विज्ञानले धेरै शहरबासीका यस्ता समस्याको समाधान निकालेको छ । बानेश्वरस्थित एरोरुट्स प्रालिले नेपालमा एरोबिक कृषि प्रणाली अन्र्तगत शहर केन्द्रित एउटा नयाँ खेती विधि भित्र्याएको छ । यो विधिमा धेरै ‘स्पेस’ को आवश्यक्ता पर्दैन, एउटा ३०० लिटरको ड्रम अट्ने ठाँउ भए पुग्छ ।
गत एक वर्षदखि विभिन्न तरकारीहरुको सफल परीक्षण उत्पादन गरेपछि कम्पनीले यो विधि सार्वजनिक गरेको हो । यस विधिमार्फत् जमिन वा माटो बिनै हावा, पानीमार्फत एउटा परिवारलाई पुग्ने तरकारी फलाउन सकिने कम्पनीकी सानीया शाहीले बताइन् । शाहीले जमिन बिना उत्पादन गर्न सकिने, माटोभन्दा छिटो तथा धेरै फल्ने र विषादीमुक्त स्वस्थ उत्पादन भएकाले घर बाहेक जग्गा नभएका शहरबासीलाई उपयुक्त हुन्छ ।
शाहीले बताए अनुसार यस विधि अन्र्तगत खेती गर्न एउटा ड्रम चाहिन्छ । तर यो ड्रम उपभोक्ता आफैंले तयार पार्ने होइन । कम्पनीले उपभोक्ताले कस्ता विरुवा उत्पादन गर्न चाहेको हो त्यसको आधारमा आवश्यक सम्पूर्ण पूर्वाधार तयार पारेर घरमा सो ड्रम फिट गर्छ । कम्पनीले नै त्यस ड्रममा आवश्यक प्वाल, मटर लगायतका वस्तु फिट गरेर त्यसललाई मेसिनको रुप दिन्छ । सोही ड्रम (मेसिन) किनेर उपभोक्ताले खेती गर्ने हो ।
सो ड्रमममा ५८ वटा प्वाल बनाइएको छ । यी हरेक प्वालमा एकएक वटा तरकारी उमान्र सकिन्छ । अर्थात यी सबै प्वालबाट ५८ वेग्लै बोट रोपेर तरकारी फलाउन सकिन्छ । माटो नभएकाले तीनै प्वालमाथि स्पोट्का लागि फर्महरु राखिन्छ । आफूले कुन तरकारी वा फल रोप्न चाहेको हो सोही आधारमा प्रयोगशालामार्फत बिउलाई बेर्नामा परिणत गरिन्छ । ती बेर्नालाई केहि दिनपछि ड्रममा भएका प्वालहरुमा रोपिन्छ ।
जमिनको प्रयोग नगरिने भएकाले ड्रम भित्र बिरुवा हुर्कन र उत्पादन दिन थाल्नलाई चाहिने पोषण तत्वका, माटोमा पाइने ‘मिनरल’ र उचित मात्रामा पानी घोली त्यसकै पेस्ट (हाइ प्रेसर मिस्ट) राखिएको हुन्छ । ड्रममा फिट गरिएको मोटरको सहायताले सो पेस्टलाई तापक्रम मिलाएर हरेक बिरुवासम्म पर्याइन्छ । यो पक्रियालाई सघाउन मोटर र एउटा टाइमर राखिएको हुन्छ । यसमा मोटरले बिरुवाको जरासम्म पोषण तत्व पुर्याउने काम गर्छ भने टाइमरले कुन बिरुवालाई कति समयको अन्तरालमा कति पोषण पुर्याउनु पर्ने हो त्यसै अनुसार कार्य गर्छ ।
यसरी पुर्याइएको तत्वलाई बिरुवाको जराले उसलाई चाहिने मात्रामा स्वच्छ र यसरी सो बिरुवा माटोमाझैं प्राकृतिकरुपमा विकसित हुँदै जान्छ र फल दिन सूरु गर्छ । बिरुवाको जरा ड्रमभित्र हुन्छ भने फल प्वालबाहिर हुन्छ । बिरुवाको जरामा प्रकाश सोझै नपरोस भन्नलाई सो ड्रमलाई बिर्कोले छोपिन्छ । यस विधिमार्फत जमिनमा खेती गरेको भन्दा २० गुणा छिटो तथा निकै बढी उत्पादन हुने तथा लागत कम लाग्ने शाहीले बताइन् ।
उनका अनुसार यस विधिमा जमिनमा खेती गर्दा आवश्यक पानीको एक प्रतिशत भए पर्याप्त हुन्छ । यसबाहेक प्रयोगशालाबाट बेर्ना तयार पारिएको र माटोको प्रयोग नहुने भएकाले रोग तथा किराको संक्रमणको जोखिम अत्यन्त न्युन हुने शाहीको दाबी छ । त्यस्तै सबै काम मेसिनले आफैं गर्ने भएकाले मलजल, गोडमेल गरिरहनु पर्ने झण्झट समेत हुँदैन । तर ड्रमभित्र उत्पादन गर्ने तरकारीहरु एउटै समुहका हुनु जरुरी हुन्छ अर्थात् तपाईले ५८ वटा प्वालमा लगाउने तरकारीलाई चाहिने पोषण तत्वको मात्रा फरक भएपनि सकभर आवश्यक पोषण मिल्नुपर्छ ।
तपाईले एउटा प्वालमा गोलभेडा लगाउनु भयो अरु प्वालमा काँक्रो, काउली, मुला, करेला फलाउन सक्नुहन्छ किनभने यी एउटै समुहमा पर्छन् र यीनलाई आवश्यक पौष्टिक तत्व लगभग उस्तै हुन्छन् । यसका लागि २४ घण्टा नै बिजुली आपूर्ति आवश्यक हुन्छ । विद्युतको नियमित आपूर्ति सहज नभएकाले यसको विकल्पमा ब्याट्रीको समेत प्रयोग गर्नुपर्ने हुन्छ । यस मेसिनको मूल्य ७५ हजार रुपैंयाँ राखिएको छ । यसमा मोटर, टाइमर, बेर्ना लागयतका सम्पूर्ण अन्य तत्वसहित फिट कम्पनीले गर्दिन्छन् ।
पहिलो पटक यसको खरिदमा कम्पनीले पोषण तत्व र बिरुवा समेत दिइने शाहीले बताइन् । तर त्यस उपरान्त भने शूल्क लाग्ने छ । एक चोटी सम्पूर्ण बिरुवाको उत्पादन खाइसकेपछि दोश्रो लटमा करिब ५ हजारमा सबै काम हुने शाहीको भनाइ छ । ड्रममा २० वर्ष वारेन्टी दिइएको छ भने नियमित मेन्टेनेन्स भने गर्नुपर्ने छ । सम्झौता अनुरुप यसका लागि छुट्टै शूल्क लाग्न सक्छ । यदि आवश्यक परेको खण्डमा यो ड्रम कम्पनीले पुन किनेर फिर्ता समेत लगिने उनले बताइन् । राजधानीको भृकुटीमण्डपमा आजबाट सुरु भएको कृषि प्रद्धशनीमा कम्पनीको स्टल राखिएको छ ।
प्रकाशित समय ०८:२२ बजे