गृहपृष्ठ अमेरिका र क्यानडा पुग्छ मकवानपुरको छुर्पी
अमेरिका र क्यानडा पुग्छ मकवानपुरको छुर्पी
हेटौंडा — मकवानपुरमा उत्पादन गरिएको छुर्पी अमेरिका र क्यानडा निकासी हुने गरेको छ । विदेशमा कुकरलाई हड्डीको सट्टामा छुर्पी खुवाउन थालेकाले निकासी हुन थालेको हो ।
हेटौंडा उपमहानगरपालिकास्थित गायत्री डेरी उद्योगले हेटौंडामा छुर्पी उत्पादन गर्दै आएको छ। उत्पादित छुर्पी राजधानीदेखि अमेरिका र क्यानडासम्म पुग्न थालेको हो।
अमेरिका र क्यानडामा यहाँ उत्पादन गरिएको छुर्पी कुकुरलाई खुवाउने गरिएकाले माग बढ्दो छ। यहाँ गाईको दूधबाट छुर्पी उत्पादन हुन्छ। नकाटेको छुर्पी (लास्सा) अमेरिका र क्यानडामा निकासी हुने गरेको हो। टुक्रा पारिएको छुर्पी राजधानीलगायत ठूला सहरमा बिक्री हुने गरेको उद्योगले जनाएको छ।
सुरुसुरुमा हेटौंडामा बढी गर्मी भएर छुर्पी उत्पादन गर्न समस्या देखिएर मकवानपुरको भैंसेस्थित किटनीको डाँडामा छुर्पी उद्योग स्थापना गएिको थियो। त्यस स्थानमा दूध लैजान र उत्पादित छुर्पी ल्याउन कठिन भएपछि चिसो बनाउने उपकरण जडान गरी हेटौंडामै उद्योग स्थापना गरिएको छ।
उक्त उद्योगले दैनिक १ हजार ५ सय लिटर दूधको छुर्पी उत्पादन गर्दै आएको छ। उद्योगमा प्रत्यक्ष रूपमा २० जनाले रोजगारी पाएका छन्।
छुर्पी उद्योग स्थापना भएपछि गाईपालन व्यवसायलाई टेवा पुगेको जिल्ला पशुसेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले बताए। ‘जिल्लामा उत्पादित छुर्पी विदेशमा निकासी हुनु भनेको यो महत्त्वपूर्ण कार्य हो,’ उनले भने, ‘यहाँको छुर्पीमा पनि इलाम र रसुवामा उत्पादन गरेसरहकै गुणस्तर छ।’
प्रकाशित समय १५:०७ बजे