गृहपृष्ठ नेकपा अध्यक्षद्वय पुन: वार्तामा, सकारात्मक निष्कर्षको अपेक्षा

नेकपा अध्यक्षद्वय पुन: वार्तामा, सकारात्मक निष्कर्षको अपेक्षा

ओलीले महाधिवेशन आयोजक समिति गठनको प्रस्ताव गर्ने

prachandaoli-newskarobar

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरू भएको छ । पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

दुई अध्यक्षबीच गएको हप्ताको मंगलबार (साउन २० गते) आपसी छलफल भएको थियो । पटक-पटकको भेटवार्ता निष्कर्षमा नपुगेपछि ९ दिनयता अध्यक्षद्वय ओली-प्रचण्डबीच संवादहीनताको अवस्था थियो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘पाँच दिनमै नेकपाभित्रको विवाद अन्त्य हुने’ बताएको भोलिपल्ट नै भएको भेटवार्ताबाट सकारात्मक परिणाम निस्कने अपेक्षा गरिएको नेकपा नेताहरूले बताएका छन् । आजको भेटवार्तामा निकासका लागि ओलीले महाधिवेशन आयोजक समिति बनाएर अगाडि बढ्ने नयाँ प्रस्ताव गर्ने स्रोतको दावी छ ।

अध्यक्षद्वयबीच संवादहीनताको अवस्था रहेका पार्टीका दोस्रो तहका नेताहरु भने आन्तरिक कलह अन्त्य गर्ने प्रयासमा जुटेका थिए । प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पाँच दिनभित्र पार्टी भित्रको हालको अवस्थामा परिवर्तन हुने बताएपछि नेकपा नेता-कार्यकर्ता आजको छलफल परिणाममुखी हुने अपेक्षामा छन् ।

विवाद बढ्दै गएपछि दुवै पक्षले एकअर्कालाई दबाव बढाउँदै गएका छन् । स्थायी कमिटीको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । ओलीले भने दुवै पदबाट राजीनामा नदिने बरू जस्तोसुकै परिस्थितको सामना गर्न आफू तयार रहेकाे बताउँदै आएका छन् ।

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु