गृहपृष्ठ धनुषाको नगराइन नगरपालिकामा वडाध्यक्षले गरे तालाबन्दी

धनुषाको नगराइन नगरपालिकामा वडाध्यक्षले गरे तालाबन्दी

कार्यालयको कामकाज पाँच दिनदेखि ठप्प

nagarain-napaa-newskarobar

 

नाम परिवर्तनको विरोधमा वडाध्यक्षहरुले नै तालाबन्दी गरेपछि धनुषाको नगराइन नगरपालिकाको कामकाज पाँच दिनदेखि ठप्प भएको छ । नगरपालिकाको नाम परिवर्तन गर्न लागिएको भन्दै असन्तुष्ट वडाध्यक्षहरु शुक्रबारदेखि तालाबन्दी गर्दै आन्दोलित भएका हुन् ।

नगराइन नगरपालिकाको नाम परिवर्तन गरी महेन्द्रनारायण निधि नगरपालिका राख्न गाउँपरिषदको बैठकमा प्रस्ताव भएपछि असन्तुष्ट चार वडाध्यक्षले नगरपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । नगराइन नगरपालिकामा नौ वडा रहेकोमा पाँचवटा वडासहित प्रमुख र उपप्रमुख नेपाली कांग्रेसका तर्फबाट विजयी भएका हुन् भने चारवटा वडाध्यक्षमा नेकपाका तर्फबाट चुनिएका छन् ।

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिका स्वर्गीय बुवा महेन्द्रनारायण निधिको नामबाट नगरपालिकाको नाम राख्न खोजिएको असन्तुष्ट वडाध्यक्षहरुको आरोप छ । वडा नम्बर १ का अध्यक्ष प्रमोद साह, ४ का अध्यक्ष अमिरीलाल राउत, ७ का अध्यक्ष रामदुलार मुखिया र वडा नम्बर ८ का अध्यक्ष सञ्जयकुमार राउतसहित १९ जना जनप्रतिनिधि नाम परिवर्तनको विपक्षमा छन् ।

नगरपालिकाको असार १६ गतेदेखि सुरु भएको नगरपरिषद ६ दिनसम्म चलिरहँदा नगरपालिकाको नाम परिर्वतनका बारेमा कुनै छलफल नगरी एक्कासि अन्तिम दिन असार २० गते माइन्युटमै प्रस्ताव आएपछि विरोध गर्नुपरेको वडाध्यक्ष मुखियाले बताए । ‘नाम परिवर्तन आवश्यक छैन,’ उनले भने, ‘त्यसमा पनि व्यक्तिको नाममा नगरपालिकाको नाम राख्ने हो भने पञ्जायतकालीन तत्कालीन नेपाली कांग्रेसकै अभियन्ता सहिद दुर्गानन्द झा, राज्यपक्षद्वारा बेपता पारिएका डा. लक्ष्मीनारायण झाको नाम राख्नुपर्छ ।’ नत्र भौगोलिक नाम राख्न उपयुक्त हुने उनले बताए ।

आन्दोलित वडाध्यक्षहरुले नगरपालिकामा गरिएको तालाबन्दी र नगरको नाम परिवर्तन गर्न नहुने भन्दै प्रदेश २ मुख्यमन्त्रीको कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषासहित प्रधानमन्त्री कार्यालयमा समेत विरोधपत्र दर्ता गराएका छन् । मंगलबार प्रदेश कार्यालयमा आएर विरोध दर्ता गराउँदै असन्तुष्ट वडाअध्यक्षहरुले बुधबारदेखि धर्नामा बस्ने बताए ।

nagarain-napaa-newskarobar

नगर प्रमुख परमेश्वर यादवले भने आफूहरु वार्ताका लागि तयार रहेको भन्दाभन्दै वडाध्यक्षहरुले बिनाकाम आन्दोलित भएको बताए । ‘बिनाकारण नगरपालिका कब्जा गर्न खोजिएको छ,’ उनले भने, ‘वार्तामा नआउने हो भने कार्यालयको कामकाज गर्न पनि बुधवारदेखि कार्यालयको प्रवेशद्वारमा लगाइएको ताला प्रहरी लगाएर खुलाउनेछु ।’

नगरपालिकामा ५० जना प्रतिनिधि रहेकोमा नाम परिवर्तनको पक्षामा ३१ जनाले हस्ताक्षर गरिसकेका छन् । ‘बाँकी १९ जनालाई पनि पैसाको प्रलोभनमा पारेर नाम परिवर्तनको माइन्युटमा हस्ताक्षर गराउने प्रयास भइरहेको वडा नम्बर ७ का अध्यक्ष मुखियाले बताए ।

नगर प्रमुख यादवले भने रकमको कुनै चलखेल नभएको प्रस्ट पारे । असन्तुष्ट प्रतिनिधिले नगरपालिकाको नाम परिर्वतनका लागि सर्वदलीय बैठकमा मौन समर्थन गरे पनि अहिले स्वयं आर्थिक विचलनमा परेको उनको आरोप छ । ‘हामीले सर्वदलीय बैठकको मर्मअनुसार नै नगरपालिकाको नाम परिर्वतनका लागि प्रस्ताव गरेका हौं,’ उनले भने ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु