गृहपृष्ठ नेतृत्वसँग कांग्रेस युवाको प्रश्न- सरकारसँग डराएकाे हाे ?

नेतृत्वसँग कांग्रेस युवाको प्रश्न- सरकारसँग डराएकाे हाे ?

तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग

सरकारले एकपछि अर्को असंवैधानिक कदम चालिरहँदा पनि केहि गर्न नसकेको भन्दै कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।

उनीहरुले सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’का लागि समेत प्रतिपक्षीको हैसियतमा कांग्रेसले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका हुन् । बुधवारको मन्त्रिपरिषद बैठकले तत्कालिन कांग्रेस नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरिदिएको छ । यसबारे केही नबोलेको भन्दै युवा नेताहरु शीर्ष नेतृत्वप्रति रुष्ट बनेका हुन् ।

उनीहरुले सरकारको निर्णय र जनजिविकाका सवालमा छलफलका लागि आपतकालिन केन्द्रीय समिति बैठक बेलाउन माग पनि गरेका छन् । सरकारको निर्णयविरुद्ध सदनमा शसक्त रुपमा आवाज उठाउनेबारे युवा नेताहरुले बिहीबार नै औपचारिक छलफलका लागि माहोल बनाउन शीर्ष नेतृत्वलाई आग्रह गरेका थिए । तर, उपसभापति बिमलेन्द्र निधि एक कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका छन् भने सभापति शेरबहादुर देउवा शुक्रबार रामेछाप जाँदैछन् । ‘शीर्ष नेताहरुको व्यस्तताका कारण बिहीबार औपचारिक बैठक बस्न सक्ने अवस्था रहेन ।’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने ‘अनौपचारिक छलफल भइरहेकै छ । सरकारी रबैयाविरुद्ध कांग्रेस शसक्त हुन आवश्यक छ ।’

बुधबार मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको हो । कांग्रेस नेता एवं त्यसबेलाका वाणिज्यमन्त्री मीन विश्वकर्माले निर्वाचन आयोगको अनुमति लिएर गरिएका निर्णय बदर गरेर वर्तमान केपी ओली नेतृत्वको सरकारले असंवैधानिक कदम चालेको प्रतिक्रिया दिए ।

‘यो आपत्तीजनक निर्णयप्रति हामी घोर भत्र्सना गर्छौँ,’ विश्वकर्माले भने, ‘यसबारे हामी संसदमा कुरा उठाउनेछौँ ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको समयमा कांग्रेस नेतृत्वको सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै उसबेलै कम्युनिस्ट नेताहरुले उल्ट्याउने चेतावनी दिएका थिए ।

मन्त्रीपरिषद बैठकले २०७४ भदौ १४ गते यता नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्था आदिमा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति खारेज गरिदिएको हो ।

आपतकालिन केन्द्रीय समितिको माग

युवा नेताहरुले सरकारको पछिल्ला निर्णयहरु र संसदमा कांग्रेसको उपस्थितिबारे धारणा बनाउन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।

‘आपतकालिन बैठक बस्नुपर्ने अहिलेको परिस्थिति हो । हाम्रो पार्टी नेतृत्व कता–कता हराए जस्तो भएको छ,’ केन्द्रीय सदस्य धनराज गुरुङले भने, ‘यो पाराले प्रभावकारी प्रतिपक्षीय भूमिका निभाउन सकिन्न ।’

राजनीतिक पूर्वाग्रह राखेर सरकारले गरेको निर्णयमा चुपचाप बस्न नहुने भन्दै युवा नेताले शीर्ष नेतृत्वलाई दबाब दिने बताएका छन् ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसले सरकारका असंवैधानिक कदम र निरंकुश शैली रोक्न सक्नुपर्ने बताए । ‘कांग्रेसले सडकबाटे सरकारलाई खबरदारी गर्न सक्नुपर्छ ।’ पौडेलले प्रश्न गरे, ‘तर, हाम्रो पार्टी नेतृत्व यसप्रति गम्भीर देखिएको छैन ।’

सरकारी निर्णयबारे जवाफ माग्ने
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रीपरिषदको निर्णयका सम्बन्धमा कांग्रेसले जवाफ माग्ने भएको छ ।
‘निर्वाचन आचारसंहिता लागू भएपनि तात्कालीन सरकारले निर्वाचन आयोगको अनुमति लिएर नै नियुक्ति गरेको थियो ।’ नेता मीन विश्वकर्माले भने, ‘त्यसबेला निर्वाचनलाई असर पर्ने कुनै निर्णय भएको थिएन । यसबारे कांग्रेसले जवाफ माग्नुपर्छ ।’
कांग्रेसले सरकारले प्रतिनिधिसभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुनः पेश गर्ने निर्णय गरेकोमा पनि आपत्ति जनाएको छ ।
‘सरकारका सबै गतिविधिबारे जिम्मेवार प्रतिपक्षीको हैसियतमा कांग्रेस प्रभावकारी रुपले सदनमा प्रस्तुत हुन्छ ।’ प्रमुख सचेतक वालकृण खाँडले भने, ‘सरकारको काम गर्ने शैली ठीक भएको छैन् ।’

‘सरकारसँग के को डर ?’

कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्वलाई सरकारसँग के को डर ? भन्दै प्रश्न गर्न थालेका छन् ।
‘सरकार अधिनायकतातर्फ उन्मुख छ, एकपछि अर्को असंवैधानिक कदम चालिरहेको छ,’ कांग्रेस युवा नेता गुरुङले भने, ‘प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सक्नुपर्छ ।’

बुधवार मध्यान्हमात्रै कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै सदनमा प्रभावकारी रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । बेलुका मन्त्रीपरिषदले तत्कालिन देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियक्तिहरु बदर गरेपछि खासगरी कांग्रेस युवा नेताहरु आक्रोशित बनेका छन् । आपतकालिन बैठक बसेर ठोस निर्णय गर्नुपर्ने बेला पार्टीका शीर्ष नेतृत्व जिल्ला दौडाहमा लागेको भन्दै नेतृत्वसँग पनि उनीहरु रुष्ट बनेका छन् ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु