गृहपृष्ठ कञ्चनपुरमय बन्यो संसद, सरकारलाई रुलिङ गर्न बाध्य भए सभामुख

कञ्चनपुरमय बन्यो संसद, सरकारलाई रुलिङ गर्न बाध्य भए सभामुख

'पीडितमाथि नै धरपकड किन ?'

सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिकाको विषयमा संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकको शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदले कञ्चनपुर घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका थिए । महिला हिंसामा शून्य सहनशिलताको कुरा गर्ने, घटनाको तत्काल सम्बोधन गरी सरकारको उपस्थिति जनाउने बताउँदै आएको सरकारले घटनाको ४ दिनसम्म पनि दोषीलाई नियन्त्रणमा लिन नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए । शून्य र विशेष समय नै कञ्चनपुरमय भएपछि सभामुखले सो घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकमा कञ्चनपुरमा भएको महिला हिंसामा संलग्न दोषिलाई पत्ता लगाई कारबाही गर्नुको सट्टा न्याय खोज्ने महिलामाथि प्रहरी दमन भएको भन्दै सरकारको चर्को आलोचना भएको थियो । प्रतिपक्षी दलका सांसदहरुले महिला हिंसाका घटनामा संलग्न दोषिलाई नियन्त्रणमा लिएर कारबाही गर्नुको सट्टा न्याय खोज्ने जनतामाथि प्रहरी धरपकड भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सांसद उमा रेग्मीले कञ्चनपुर घटनामा सरकारले दोषिलाई कारबाही गर्नुको सट्टा जनतामाथि धरपकड गरेको भन्दै आपत्ती जनाइन् । शून्य समयमा सत्तारुढ दलका सांसदले सो घटनालाई लिएर केही दलले लाशको राजनीति गरेको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भनिन, ‘लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन । त्यहाँका जनता होइनन् ।’

सांसद भरत शाहले लाशको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस नभएको भन्दै घटनामा संलग्न दोषी पक्राउ गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले मुलुकभरका हरेक घटनाको तत्काल सम्बोधन गर्ने बताएकोे सरकारले ४ दिन वितिसक्दा पनि बलात्कार र हत्यामा संलग्न दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु