गृहपृष्ठ नेपालगन्ज–कर्णाली उडानमा बिचौलिया, नियमित उडान चार्टरमा परिणत हुँदा सर्वसाधारणलाई सास्ती

नेपालगन्ज–कर्णाली उडानमा बिचौलिया, नियमित उडान चार्टरमा परिणत हुँदा सर्वसाधारणलाई सास्ती

मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्जका लागि उड्न तयारीमा तारा एयरको जहाज । तस्बिर : काशीराम शर्मा
मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्जका लागि उड्न तयारीमा तारा एयरको जहाज । तस्बिर : काशीराम शर्मा

ठाकुरसिंह थारू । बाँके । नेपालगन्जबाट कर्णाली प्रदेशमा हुने हवाई उडानमा बिचौलिया बढेका छन् । त्यस्ताले प्रवेश पाएपछि नियमितलाई चार्टर उडानमा रूपान्तरण गरेर महँगो भाडा असुल्ने गरिएको छ । यही कारण नियमति उडान घटेका छन् । चार्टर भने बढेका छन् । नियमित उडान घटेपछि सर्वसाधारण मारमा परेका छन् । मनोमानी भाडा असुल्न नियमित उडानलाई चार्टरमा रूपान्तरण गरिएको हो ।
नेपालगन्जबाट कर्णालीका लागि नेपाल एयरलाइन्स, सीता, तारा, गोमा, मकालु समिट एयरले उडान भर्छन् । कार्गोबाहेक चार्टर उडान गर्न नदिने पक्षमा नेपालगन्जस्थित नागरिक उड्डयन कार्यालय छ । उसले नियमित उडान बढाउन विमान कम्पनीलाई आग्रह गर्दै आएको छ । तर सीता र ताराले अर्को पक्षलाई कर्णाली उडानको जिम्मा दिएका छन् । नागरिक उड्ययन प्रमुख प्रतापबाबु तिवारीले चार्टर उडानलाई निरुत्साहित गर्न आफू लागिपरेको दाबी गरे । नियमित उडान बढाउन एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको उनले बताए ।
‘नियमितलाई चार्टरमा परिणात गर्न पूर्णरूपमा निरुत्साहित गर्न लागेको छु । उडानका लागि केन्द्रले अनुमति दिने भएका कारण त्यसबारे जानकारी गराइसकेको छु,’ उनले भने, ‘त्यसबारे छानबिन सुरु भइसकेको छ । चार्टर देखाउने परम्परालाई निरुत्साहित गरेरै छाड्छौं ।’ कर्णालीका जिल्लाअनुसार नेपालगन्जबाट एकतर्फी भाडा ४ हजार ५ सयदेखि ८ हजारसम्म पर्छ । जहाज चार्टर (भाडामा) आफूखुसी भाडा लिएर यात्रु राख्ने चलन छ तर नियमिततर्फ भने निश्चित भाडा तोकिएको छ । नियमित उडानका लागि पहिले नै टिकट लिइसकेका सर्वसाधारण चार्टरमा राखिँदैन ।
जसले गर्दा एक सातासम्म समय कुर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ । ‘एयरलाइन्स कम्पनीले चार्टर बढी देखाउन थालेपछि नियमित उडान प्रभावित भएको छ । यो राम्रो होइन । हामी रोक्छौं,’ प्रमुख तिवारीले भने । मुगुमा तारा एयरलाइन्सको जिम्मा भिजिट कर्णालीका राजु कार्कीले लिएका छन् । सीता एयरलाइन्सको जिम्मा सिम्रिका एयर कार्गो सर्भिसका मनोज भारती र भिजिट राराका होमराज भामले लिएका छन् । कार्कीले काठमाडौंबाट पर्यटक ल्याउने गरेका छन् । सीताको जिम्मा लिएका भारतीले तारा एयरलाइन्सले अर्को पक्षलाई जिम्मा दिएपछि बाध्य भएर आफूहरूले पनि सुरु गरेको दाबी गरे ।
‘ताराले अर्कैलाई जहाज उडानको जिम्मा दिएपछि हामी पनि बाध्य भयौं,’ उनको दाबी छ, ‘तर त्यसो हुँदा पनि बढी पैसा असुली गरेका छैनौं । एयरलाइन्सबीच प्रतिस्पर्धा हुँदा सर्वसाधारणलाई फाइदा भएको छ ।’ ताराका सूचना अधिकारी भीमराज राईले आफैंले एयरलाइन्स सञ्चालन गरिरहेको दाबी गर्दै निजी कम्पनीले चार्टरमा लिन पाउने बताए । ‘निजीले हाम्रो जहाज चार्टर गर्नु स्वाभाविक हो,’ उनी भन्छन् । विमान कम्पनीको मनपरी उडानले कर्णाली आउजाउ गर्ने सर्वसाधारण र पर्यटकले सास्ती खेप्नु परेको हो ।
टिकट किनेपछि कयौं सातासम्म जहाज पखाइमा नेपालगन्ज र सुर्खेत विमानस्थलमा सर्वसाधारण बस्छन् । सातामा एक दिन मात्रै उडान गर्ने नेपाल एयरलाइन्सको उडान अनियमित छ । जसका कारण कर्णालीका पर्यटकीय स्थलहरू राराताल, से–फोक्सुन्डो, हुम्ला हुँदै कैलाश मानसरोवर जाने उडान कम्पनीको मार झेलिरहेका छन् । त्यससँगै बिरामी, अत्यावश्यक काम परेका र स्थानीय सर्वसाधारण जहाज कुर्नुभन्दा तीन दिनसम्मको गाडीको यात्रा गर्न बाध्य छन् । -कान्तिपुरबाट

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु