गृहपृष्ठ सनराइज र एनसीसीलाई राष्ट्र बैंकको निर्देशन : सहमति नतोड्नु, बढी ब्याज फिर्ता गर्नु
सनराइज र एनसीसीलाई राष्ट्र बैंकको निर्देशन : सहमति नतोड्नु, बढी ब्याज फिर्ता गर्नु
नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउन पुनः प्रतिस्पर्धा हुने वातावरण नबनाउन सनराइज बैंक र एनसीसी बैंकलाई निर्देशन दिएको छ । सनराइज बैंक र एनसीसी बैंकले बैंकर्स संघमा भएको ब्याजदरसम्बन्धी भद्र सहमति तोडेपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सनराइज र एनसीसी बैंक भद्र सहमति तोडेर निक्षेप तान्ने होडबाजीमा लागेको गुनासो आएपछि मंगलबार नै दुबै बैंकको उच्च व्यवस्थापनलाई भद्र सहमति पालना गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । केन्द्रीय बैंकले सहमतिविपरित दिइएको ब्याज फिर्ता गर्न पनि भनेको छ ।
सनराइज बैंकले भने अर्बौ निक्षेप बाहिरिने भएकाले केही बढी दिइएको बताउँदै आएको छ । राष्ट्र बैंकको निर्देशनपछि दुबै बैंकले सहमति पालना गर्ने बताएका छन् ।
बैंकर्स संघले संस्थागत मुद्दति निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेको थियो । तर, एनसीसी र सनराइज बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजानिक गर्दै ९.६५ प्रतिशत ब्याज दिएर एनटीसीको मुद्दति निक्षेप तानेका थिए ।
प्रकाशित समय १३:२५ बजे

















