गृहपृष्ठ माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको भन्दा ४४ करोड रुपैयाँ कम हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको नाफा कम हुनुको मुख्य कारण कोभिड १९ का कारण साँवा तथा ब्याज संकलन प्रभावित हुनु हो ।
चैत ११ गतेदेखिको लकडाउनका कारण अधिकांश बैंकको साँवा, ब्याज उठ्न सकेको छैन । सरकारले ब्याज छुटका लागि आग्रह गरेको छ भने चैतदेखि अहिलेसम्म पनि कर्जा प्रवाह हुन सकेको छैन । ‘लकडाउनका सुरुवाती दिनदेखि नै कर्जा प्रवाह ठप्प छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला भन्छन्, ‘अहिले बैंकहरू दोहोरो‑तेहोरो समस्यामा छन् ।’
निक्षेप संकलन र कर्जा प्रवाहमा भने बैंकले उल्लेख्य सुधार गरेको छ । बैंकले असार मसान्तसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षसम्ममा ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकको निक्षेप १९ अर्ब रुपैयाँले र कर्जा प्रवाह १७ अर्बले बढेको छ ।
चुक्ता पुँजी ८ अर्ब ४५ करोड भएको बैंकको खराब कर्जा ०.५४ प्रतिशत, सिसिडी रेसियो ७३.८१ प्रतिशत, बेसरेट ९.२१ प्रतिशत र स्प्रेड दर ४.३६ प्रतिशत छ ।
प्रकाशित समय २०:३९ बजे

















