गृहपृष्ठ कोभिड–१९ मा सहयोग गर्न उद्योग वाणिज्य महासंघको अपिल
कोभिड–१९ मा सहयोग गर्न उद्योग वाणिज्य महासंघको अपिल
कोभिड–१९ मा सहयोग गर्न उद्योग वाणिज्य महासंघले आफ्ना सबै सदस्यहरुलाई अपिल गरेको छ । महासंघले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र निकै प्रभावित भएको जनाउँदै सहयोगका लागि अपिल गरेको हो ।
कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको र मृत्यदर पनि निकै बढेको परिप्रेक्ष्यमा नागरिकको स्वास्थ्य सुरक्षा निकै पेचिलो बन्दै गएको तथा अर्थतन्त्रमा पनि यसले गम्भीर धक्का लागेको भन्दै महासंघले सहयोगका लागि सबै पक्षलाई आग्रह गरेको छ । ‘महामारीको संवेदनशील घडीमा सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा नै हो,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको स्वास्थ्य सुरक्षाका लागि कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू निरन्तर क्रियाशील छन् । यो समयमा सरकारको मात्र भर नपरी हाम्रो उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी काम गर्नैपर्छ ।’
कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चालेका कार्यक्रम, योजना र घोषणालाई सफल कार्यान्वयनमा लैजान सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघले तीनै तहका सरकारले यस दिशामा गरेका सबै पहललाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
महासंघले मुलुकभरि नै रहेको आफ्नो सञ्जाललाई संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले चालेका सबै कार्यक्रममा परिचालन गर्ने र त्यसका लागि आफ्ना सबै सदस्यलाई अहिलेको यो अति नै संवेदनशील अवस्थामा आ–आफ्ना तर्फबाट आ–आफ्ना क्षेत्रमा सक्दो सहयोग गर्न आग्रह गरेको छ । त्यस्तै संक्रमणबाट जोगिन सरकारले निर्देश गरेका सवै स्वास्थ्य प्रोटोकललाई पालन गरी आफ्नो स्वास्थ्यको ख्याल गर्न आम जनसमुदाय समक्ष आग्रह पनि गरेको छ ।
प्रकाशित समय १६:२६ बजे

















