गृहपृष्ठ माथिल्लो त्रिशूली ३बी आयोजनाको मन्त्री पुनले गरे शिलान्यास

माथिल्लो त्रिशूली ३बी आयोजनाको मन्त्री पुनले गरे शिलान्यास

upper-trisuli3b-newskarobar

माथिल्लो त्रिशूली ३बी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ३७ मेगावाट क्षमताको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार आयोजना शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मन्त्री पुनले आयोजनाको निर्माण तोकिएको लागत र समयमा सम्पन्न गर्न निर्देशन दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवर्धक त्रिशूली जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले ठेकेदार कम्पनीले हाल निर्माण कार्यका लागि आवश्यक सम्पूर्ण निर्माण उपकरण तथा सामग्रीको परिचालन गरी ३८ सय मिटर लामो मुख्य सुरुङ, विद्युत गृह, सर्ज ट्यांकलगायतका संरचनाको काम सुरु गर्ने बताए । आयोजनाले २०७७  फागुन २९ गतेबाट विद्युत उत्पादन थाल्ने गरी निर्माणलाई तीव्रता दिने उनले जानकारी गराए ।

आयोजनामा नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानी छ । इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २०७४ माघ  २९ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको भइसकेको छ ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना तथा उपकरणको डिजाइन, निर्माण र जडान गर्नेछ । रसुवा र नुवाकोटमा निर्माण हुने आयोजना निर्माणाधीन ६० मेगावाटको माथिल्लो त्रिशूली ३ए को क्यास्केड हो ।

आयोजनामा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर स्वामित्व छ । त्यसबाहेक रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा र नुवाकोटका वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा र नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ खर्च हुने अनुमान छ । उत्पादित विद्युत आयोजनाको विद्युतगृहबाट तीन किलोमिटर प्रसारणलाइनमार्फत त्रिशूली ३बी हब सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु