गृहपृष्ठ इयूहोफाको अध्यक्षमा खेम लकाई निर्वाचित
इयूहोफाको अध्यक्षमा खेम लकाई निर्वाचित
विश्वभरीका आतिथ्य व्यवस्थापन शिक्षा सम्बन्ध शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सञ्जाल होटल स्कुल एसोसियसन (इयूहोफा) को अध्यक्षमा नेपालको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाई निर्वाचित भएका छन् । लकाई सन् २०१७मा इयुहोफाका बोर्ड सदस्य थिए ।
इयूहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरीका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबा १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरू सदस्य छन् ।
काठमाडौं जारी ५८ औं कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्य सम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञहरूको सहभागिता छ ।
नेपालले आयोजना गरेको यो अन्तर्राष्ट्रिय सम्मेलनको आतिथ्यता एसियामा नै पहिलो पटक भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालले पर्यटनलाई प्राथमिकता प्राप्त उद्योग र वैदेशिक मुद्रा आर्जन तथा रोजगारी सिर्जनाका लागि दिगो स्रोतका रूपमा मान्दै आएको हुनाले आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण विषय भएको बताए ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागिएको र वार्षिक कम्तिमा २० लाख पर्यटकहरू नेपाल भित्र्याउन लागिएको परिप्रेक्षमा आतिथ्यताको क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको उनको भनाइ थियो ।
उनले पर्यटन उद्योगलाई नीतिगत सुधारहरूमार्फत बढावा दिइरहिएको भन्दै यसले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पर्यटनले हाम्रा प्राकृतिक र सांस्कृतिक उत्पादनहरूलाई समृद्ध तुल्याउने धारणा राखे । सोही कारणले सन् २०२० को नेपाल भ्रमण वर्षलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन लागिएको उनको भनाइ थियो ।
यो कंग्रेसले नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धन गर्न सहयोग पुर्याउने पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विश्वास व्यक्त गरे । इयूहोफाका नवनिर्वाचित अध्यक्ष खेम लकाईले नेपालमा अतिथिलाई भगवानका रूपमा हेर्ने मुलुक भएको बताउँदै यहाँको आतिथ्य सत्कार क्षेत्रलाई विश्वभरी नै उदाहरणीय मानिएको बताए ।
आतिथ्य सत्कारलाई अध्यात्मसँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रो विश्व युरोपजस्तै एकनासले कामय भएर बस्न सक्दैन, यहाँ केही कुराहरू बिग्रेर गएका छन् । तर यहाँ मिलनसार मानिसहरूले भरिपूर्ण छ । त्यसैले थुपै पर्यटकहरूले भन्ने गर्छन्– हामी यहाँ हिमाल–पहाड र मानिसका कारण आउने गर्छौं ।’
उनले यो मानवीय भावना नै यहाँका सामथ्र्य भएको बताउँदै उनीहरूलाई प्रशिक्षित गरेर शक्तिमा बदलिने अवसर रहेको बताए । काठमाडौँमा जारी इयुहोफाको ५८औँ कंग्रेसमा यसपटक दुई दर्जन मुलुकबाट ७० विभिन्न पर्यटन र आतिथ्यतासम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरू, पर्यटन उद्योगका नेतृत्वकर्ता र प्रतिष्ठित बरिष्ठ व्यक्तिहरू एवं थुप्रै विज्ञहरू सहभागी थिए ।
यस संगठनको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका त्यस्ता निकै पुराना प्रतिष्ठित शैक्षिक संस्थाहरू छन् । अहिलेसम्म पर्वतारोहण र पदयात्राको पर्यायवाची गन्तव्यका रूपमा मात्र चिनिएको नेपालका लागि यस भूमिको नसामै भएको अतिथि सत्कारको गुणलाई बदलिँदो परिवेश अनुरूप विश्व बजारमा देखाउने एउटा ठूलो अवसर भएको आयोजकले जनाएको छ । त्यसबाहेक यो धार्मिक सहिष्णुताको परिवेशमा यहाँका प्राकृतिक र धार्मीक धरोहरकाबीच नेपाललाई आध्यात्मिक केन्द्रका रूपमा परिचित गराउने उपयुक्त समय समेत हो ।
युरोपका केही पर्यटन र आतिथ्य सत्कारका विद्यालयबाट सुरु भएको यस एसोसिएसनमा अहिले नेपालका १२ होटल व्यवस्थापन तथा आतिथ्य सत्कार सम्बद्ध कलेजहरू सदस्य छन् भने ८ कलेज आयोजक रहेका छन् । २०१७ इटलीमा पहिलोपटक नेपालबाट लकाई बोर्ड सदस्य निर्वाचित भएसँगै यस आयोजनाको उनी अध्यक्षमा चुनिएका हुन् ।
प्रकाशित समय ०९:३४ बजे

















