गृहपृष्ठ सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव

aspatal-jhadap-newskarobar

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्य अवस्थामा सुत्केरी भई बच्चाको जन्म दिएकी एक आमाको मृत्यु भएको छ । कास्की अन्नपूर्ण गाउँपालिका ७ लान्दु्रक निवासी हाल पोखरा चाउथे बस्दै आएकी ३३ वर्षीया निशाकुमारी थापाले सामान्य अवस्थामा शिशुको जन्म दिएपछि हाल उनको अस्पतालमै मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।

बिहीबार बेलुका सामान्य बेथा लागेर अस्पताल आएकी निशाले दोस्रो सन्तानको रुपमा छोराको जन्म दिएपछि उनको रक्तश्राव हुँदा अस्पतालले समयमै उचित ढंगले उपचार गर्न नसक्दा अस्पतालको लापरवाहीले गर्दा निशाको मुत्यु भएको पीडितका आफन्तले जिकिर गरेका छन् । पीडितका आफन्त चन्द्रबहादुर थापाले भने, ‘अस्पतालले समयमै उनको उपचार गर्न नसक्दा मृत्यु भएको हो, दोषी उपर कारवाही हुनुपर्छ, सामान्य अवस्थामा सुत्केरी भई बच्चा चन्म दिएकी आमाको मुत्यु हुनु निकै दुःख लाग्दो कुरा भयो ।’

पीडिताका आफन्तले अस्पताल परिसरमा आन्दोलन गर्न थालेका छन् । निशाले बिहीबार बेलुका करिब ८ बजे शिशुको जन्म दिएपछि उनको पाठेघरको शल्यक्रिया भएको थियो । बेलुका १० बजेदेखि आज बिहान ३ बजेसम्म लगायर चिकित्सकको टोलीले उनको पाठेघरको शल्यक्रिया गर्दा पनि बचाउन नसकिएको अस्पातालका निर्देशक अर्जुन ज्ञवालीले बताए ।

सामान्य अवस्थामा बच्चाको जन्म दिएकी निशाको अत्यधिक रक्तस्रावका कारण आज बिहान मुत्यु भएको निर्देशक ज्ञवालीले बताए । उनले भने, ‘बिहीबार साँझ अस्पतालमा आएकी निशाले नर्मल अवस्थामा छोरा जन्माएकी थिइन्, रक्तस्राव अत्यधिक भएको र शल्यक्रिया गर्दासमेत रगत बग्ने क्रम नरोकिए पछि आज बिहान उनको मुत्यु भएको हो ।’ उनको पाठेघर नखुम्चिने समस्या आएकाले आफूहरुले धेरै प्रयास गरी उनलाई बचाउन नसकिएको निर्देशक ज्ञवालीले जनाए । निशाको शव हाल अस्पताल परिसरमै छ भने उनका आफन्तले दोषी उपर कारबाहीसहित उचित क्षतिपूर्तिको समेत माग गरेका छन् ।

यसैबीच, पीडितका आफन्त र प्रहरीबीच झडप हुँदा ३ जना पक्राउ परेका छन् । झडपमा परी पीडितका आफन्त ४ जना र ५ जना प्रहरी सहित ९ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा निशाका भान्जा रमेश थापा, शोभाखर पौडेल, नरबहादुर थापा र विष्णु गुरुङ छन् ।

झडपमा प्रहरी निरीक्षक विजय भण्डारी, प्रहरी हवल्दार गणेश विष्ट, हवल्दार मीनबहादुर पाण्डे, प्रहरी जवान रुपा परियार र डोलराज नेपाली घाइते भएको प्रहरीले जनाएको छ । पीडितका आफन्तले दोषी उपर कारबाहीको माग गर्दै प्रहरी माथि ढुंगा प्रहार गर्दा प्रहरीले सामान्य बल प्रयोग गरी लाठ्ठी चार्ज गरेको जनाएको छ ।

प्रहरी माथि ढुंगामुडा प्रहार गर्ने ३ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए । उनका अनुसार पक्राउ पर्नेमा राजु थापा, अनिल थापा र राम गुरुङ छन् । निशाको पहिलो छोरा करिब १२ वर्षका छन् भने उनका श्रीमान विदेशमा छन् ।

प्रकाशित समय १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु