गृहपृष्ठ नारायणी अस्पतालमा चिकित्सकसहित ४९ जनामा कोरोना पुष्टि
नारायणी अस्पतालमा चिकित्सकसहित ४९ जनामा कोरोना पुष्टि
प्रदेश २ मा साउन यता सुरु भएको कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । पर्सा, बारा र महोत्तरीमा शुक्रबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये पर्सा जिल्लाका २६ जना, बारा जिल्लाका २१ जना र महोत्तरी जिल्लाका २ जना गरी थप ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
साउन २४ गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा जम्मा गरिएको स्वाबलाई परिक्षण गर्दा स्थानीय नेता, नेपाली सेनाका सिपाही, नारायणी अस्पतालमा कार्यरत चितिक्सक, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, भारतीय महावाणिज्य दुतावासका कर्मचारी, बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
नारायणी अस्पतालमा कार्यरत एक चिकित्सक, ४ जना स्वीपर, एक जना फिजियोथेरेपीका विभागका कर्मचारी, एक पोषण विभागका कर्मचारी, ३ सुरक्षा गार्ड, अस्पतालको फार्मेसीमा कार्यरत एक जन कर्मचारीगरी १२ जनामा कोरोना संक्रमण भेटिएको अस्पतालले जनाएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंक वीरगञ्ज शाखाका एक जना कर्मचारीमा पनि कोरोना देखिएको छ ।
पर्सामा थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिका २ छपकैयाँ, वडा ४ विर्ता र लोहारपट्टी रोड, वडा ८ पानिटंकी, वडा १० घडिअर्वा, वडा ११ श्रीपुर, वडा १३ मुर्ली र राधेमाई, वडा १५ भिस्वा, वडा २५ सिर्सिया, वडाका वासिन्दा रहेको नारायणी अस्पतालका मेडिकल सुपरिनटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
त्यस्तै बारा जिल्लाको जितपुरसिमरा महानगरपालिकाको वडा १४ का ३ देखि वडा १५ सम्मका २० जना र विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरी जिल्लाको जलेश्वोरको २ जनामा संक्रमण पुष्टि भएको छ । जितपुर सिमराका सबै संक्रमितहरुको स्वाब परिक्षणका लागि सिमरा क्वारेन्टिनबाट वीरगञ्ज ल्याइएको थियो । भारतीय महावाणिज्य दुतावासका एक जना थप कर्मचारीमा पनि संक्रमित भएका छन् ।
२ वर्ष देखि ६२ वर्ष उमेर समूहका संक्रमितमा १२ जना महिला रहेको अस्पतालको पीसीआर ल्याबले जनाएको छ । थपिकेका मध्ये केही कन्ट्याक्ट ट्रेडिङ र केही स्वेच्छाले आफ्नो परीक्षण गराएका रहेका छन् । अस्पतालका मेसु डा. उपाध्यायले केही संक्रमितहरुमा लक्षणसहित रहेको बताए ।
प्रकाशित समय ११:१९ बजे

















