गृहपृष्ठ भरतपुरमा प्राकृतिक चिकित्सालय सञ्चालन

भरतपुरमा प्राकृतिक चिकित्सालय सञ्चालन

भरतपुर महानगरपालिका-४ मा प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ । नेट फ्रेस हस्पिटलको नाममा सेवा सञ्चालनमा ल्याइएको हो । प्राकृतिक चिकित्सा विधिबाट बिरामीको उपचार गरिने उक्त अस्पताल जिल्ला आयुर्वेद अस्पतालसँग १० शय्याको अनुमति लिई केन्द्रीय सरकारसँगको अनुमति प्रक्रियासँगै सञ्चालनमा ल्याइएको सञ्चालकहरूले जनाएका छन् ।

अस्पतालका अध्यक्ष गोविन्द हुमागाईं  बिनाऔषधि प्राकृतिक एवं अन्य प्रविधिबाट बिरामीलाई सेवा दिने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । हुमागाईंले योग, ध्यानजस्ता आफ्नै मौलिक विधिहरूको स्थापना एवं प्रोत्साहन गर्दै दीर्घरोगको दिगो समाधानका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताए ।

यस अस्पतालमा ढाड, कम्मर, गर्धन दुख्ने, युरिक एसिड, बाथ, हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस, पिनास, टाउको दुख्ने, माइग्रेन, एलर्जी दमजस्ता रोगहरूको उपचार हुनेछ । व्यक्तिको नाममा रहेको तीन बिघा जग्गा भाडामा लिई अस्पताल सञ्चालनमा ल्याइएको छ । तीन जना चिकित्सकसहितको समूहले २ करोड लगानी गरी आवासीय सुविधासहितको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल परिसरमा अहिले १६७ जातका जडीबुटी लगाइएको हुमागार्इंले जानकारी दिए । भविष्यमा सात प्रदेशमा नै अस्पताल खोल्ने उद्देश्यका साथ यो अस्पताल सञ्चालनमा ल्याइएको हो । यो अस्पताललाई केन्द्रविन्दु मानी प्रकृतिक चिकित्साको कलेज खोल्ने योजनाका साथ काम अघि बढिरहेको अस्पतालका प्रबन्ध निर्देशक डा. भवानचन्द्र ज्ञवालीले जानकारी दिए । (रासस)

प्रकाशित समय ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु