गृहपृष्ठ समाचार प्रभाव : साहुले राखेको नागरिकता सिडिओको पहलमा फिर्ता
समाचार प्रभाव : साहुले राखेको नागरिकता सिडिओको पहलमा फिर्ता
फाइल तस्बिर
लक्ष्मीनियाँ गाउँपालिका-४ स्थित सिनुरजोडाका अघनु सदाले साहुकहाँ राखिएको नागरिकता फिर्ता पाएका छन् । चरम गरिबीको सामना गर्दै आएको सादा परिवारले ऋण लिनका लागि साहुकहाँ धितो केही नभएकाले नागरिकता बन्धकीमा राखेका थिए । तर, पछि ऋण तिर्न नसकेपछि साहुले उनिहरूको नागरिकता फिर्ता गरेका थिएनन् ।
गरिबीको चरम मारमा रहेको सादा परिवारले नागरिकता नपाएर उनीहरूबा बालबालिका विद्यालय जानबाट समेत बञ्जित हुनुपरेको समाचार न्युज कारोबार डटकमले फागुन ९ गते प्रकाशित गरेको थियो ।
गरिबीको चपेटामा सादा परिवार- जोसँग झुपडी छाउने एउटा प्लास्टिक पनि छैन
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले मुसहर बस्तीमै पुगेर वर्षौंदेखि साहुकहाँ राखेको नागरिकता फिर्ता गराएका छन् । साहु रामआशिष यादवका माहिला छोरा संजीव कुमार यादवले छ जनाको नागरिकता फिर्ता गरेका हुन् ।
त्यसरी साहुकहाँ राखिएको नागरिकता फिर्ता पाउनेहरूमा भुवनेश्वर सादा, सन्तोषी सादा, रामप्रवेश सादा, तारादेवी तथा सम्भु सादा रहेको लक्ष्मीनियाँ गाउँपालिका-२ का वडाध्यक्ष गणेश साहले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको टोलीले मुसहर बस्तीमै पुगेर ५ जनाको नयाँ नागरिकता समेत बनाइदिएका छन् । नयाँ नागरिकता पाउनेहरुमा रामसिया सादा, रामवरण सादा, रामपुजन सादा र चन्देश्वर सादा रहेका छन् ।
जनकपुरधामबाट ४ किलोमिटर उत्तर पश्चिममा पर्ने लक्ष्मीनियाँ गाउँपालिका- २ सिनुरजोडाको पश्चिमवारी मुसहर बस्तीमा बस्ने अघनु सादाले घर निर्माणमा सहयोग गरिदिन समेत अपिल गरेका छन् । ४४ घरपरिवार मुसहर बस्तीमध्ये निकै विपन्न र मानसिक रुपमा विक्षिप्त अघनु सादाले आफूलाई सहयोग गरी घर बनाइदिनु अपिल गरेका हुन् ।
यसअघि अघनु सादा परिवारको दयनीय अवस्थाबारे समाचार प्रकाशित भएपछि रेडक्रसले तत्कालीन राहत प्रदान गरेको थियो । रेडक्रसको टोलीले त्रिपाल, दाल, चामल, भाँडा, लताकपडा दिएको छ भने क्लोथ बैंक जनकपुरका अध्यक्ष राजिव झाको टोलीले कपडा प्रदान गरेको थियो ।
प्रकाशित समय १५:३२ बजे
















