गृहपृष्ठ सावधान ! बिस्कुट-चाउचाउले कमजोर हुँदैछन् बालबच्चा

सावधान ! बिस्कुट-चाउचाउले कमजोर हुँदैछन् बालबच्चा

JunkFood_NewKarobar

तपाईं सहजै पाइने, छिटो बन्ने, खुवाउन पनि सजिलो र बच्चाले पनि मन पराउने भन्दै बिस्कुट, चाउचाउ, चकलेट, लेज्, चिप्स, चिज बल्स आदि दिने गर्नुभएको छ भने सावधान ! त्यसले तपाईंको बच्चालाई कमजोर बनाउँदैछ । अन्तर्राष्ट्रिय अनुसान्धानकर्ताहरूसमेतको एक टोलीले काठमाडौंका बालबालिकाहरूमा गरेको एक अध्ययनले यस्ता प्याकेट बन्द ‘जंक फुड’हरूका कारण बच्चाहरू नबढ्ने, शारीरिक रूपमा कमजोर हुने, कम तौलका हुनेजस्ता समस्या देखिएको छ ।

हिजोआज यस्ता प्याकेट बन्द खानेकुरा भनेपछि बच्चाहरू पनि हत्ते गर्छन्, अभिभावकले पनि खुसीसाथ किनेर दिने गर्छन् । सहरी क्षेत्रमा मात्र नभई यस्ता प्याकेट बन्द खानेकुरा गाउँगाउँमा पाइन्छ । अत्याधिक मात्रामा गुलियो, नुन वा चिल्लो पदार्थ (फ्याट)का साथसाथै स्वाद बढाउनका लागि प्रयोग हुने मोनोसोडियम ग्लुकामेट (एमएसजी वा आम बोलिचालिको भाषामा अजिनोमोटो)जस्ता रसायन त हुन्छ, तर तिनमा पौष्टिकता भने निकै कम हुने भएकाले बच्चाहरूले शरीरलाई आवश्यक क्यालोरी नै पाउन नसकी रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय कल्याणकारी संस्था हेलन केलर इन्टरनेसनलका लागि गरिएको उक्त अध्ययनको नतिजा डरलाग्दो छ । बिस्कुट, चाउचाउ, चिप्स, चिजबल्सजस्ता ‘जंक फुड’ बढी खाने बच्चाहरूमा भिटामिन ए (थियामिन), भिटामिन बी (नाइसिन), भिटामिन बी टुभेललगायतका भिटामिनहरू, आइरन, जिंक, फोलेटलगायतका खनिजहरू पाउँदैनन् । ‘जर्नल अफ न्यूट्रिसन’मा प्रकासित उक्त अध्ययनले अत्याधिक जंक फुडको उपयोग गर्ने बच्चाहरू उमेर अनुसार नबढ्ने, तौल नपुग्ने, शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएको देखाएको छ ।

चाउचाउ, चिप्स, चिज बल्स, पपकर्नलगायतका प्याकेट बन्द खानेकुरा स्वादिलो बनाउनका लागि तिनमा अत्याधिक मात्रामा मोनोसोडियनम ग्लुकामेट (एमएसजी) प्रयोग गरिएको हुन्छ, त्यसले बालबालिकाको पाचन प्रणालीमा असर पार्नुका साथै हड्डीहरु कमजोर बनाउने खाद्य विज्ञहरू बताउँछन् । ‘यस्ता प्याकेज बन्द खानेकुरा दिइँदा बच्चाहरूको पोषण नै पुग्दैन, जसको कारणले उनीहरूको शारीरिक वृद्धिमा समेत असर पार्छ,’ अध्ययनमा भनिएको छ ।

अध्ययन गरिएका ६ देखि ६९ महिनाका बच्चाहरूमध्ये एक तिहाइको उचाइ कम भएको पाइएको थियो भने करिब एक चौथाइ बालबालिकामा आइरन डेफिसेन्सी एनिमिया (आईडीआई)को समस्या देखिएको थियो । यो अध्ययन काठमाडौं उपत्यकाका १२ देखि २३ महिनाका ७४५ बालबालिका र तिनका परिवारका बीचमा सर्वेक्षण गरेर आवश्यक परीक्षण विधिबाट सम्पन्न गरिएको थियो ।

परम्परागत घरेलु खानेकुरा, आमाको दूध र अन्य फलफूलसहितका आहर खाने बालबालिकाका तुलनामा प्याकेट बन्द खानेकुरा खाने बालबच्चामा प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए र बी, जिंकसहितका पोषकको कमी भएको यो अध्ययनको निचोड छ ।

नेपालका बालबच्चाहरूले कोक, फान्टाजस्ता क्याफिनयुक्त र चकलेटमात्रै बढी नखाने भएकाले जंक फुडकै कारण अहिलेसम्म फोक्से मोटोपन (ओबिसिटी)को समस्या अहिलेसम्म नदेखिए पनि भविष्यमा यस्तो समस्या पनि बढ्दै जाने खतरा भने छ ।

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु