गृहपृष्ठ डाउन सिन्ड्रोम के हो, पहिचान कसरी गर्ने ?

डाउन सिन्ड्रोम के हो, पहिचान कसरी गर्ने ?

डाउन सिन्ड्रोम जन्मजात अवस्था हो। बच्चा गर्भमा हुँदै यसको विकास भइसकेको हुन्छ। क्रोमोजोमको संख्याले बौद्धिक अपांगताको अवस्था सिर्जना हुन्छ र यसैको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ। तर डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीको जन्म हुनुमा कुनै अभिभावकको मात्र दोष हुँदैन।

डाउन सिन्ड्रोमको अवस्थामा मानव शरीरको प्रत्येक कोषमा अन्य साधारण अवस्थामा भन्दा एउटा बढी क्रोमोजोम हुने गर्दछ। सामान्य शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर कोषमा रहेका हुन्छन्। तर डाउन सिन्ड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम रहेका हुन्छन्। यो एउटा बढी क्रोमोजोम २१औं जोडीका रुपमा देखिने भएकोले यसलाई ट्राइसोमी २१ पनि भनिन्छ। यो अवस्था छोरा र छोरी दुवैमा बराबर हुने सम्भावना रहन्छ।

एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार यो अवस्था बुवा तथा आमामध्ये जसको वंशबाट पनि बच्चामा आउन सक्दछ र आमाको उमेर ३५ वर्ष नाघेपछि गर्भधारण गर्दा यस अवस्थाका बच्चाहरुको जन्म हुने सम्भावना बढी रहन जान्छ। अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार प्रत्यक ६ सय ९१ बच्चाको जन्मक्रममा एक जना डाउन सिन्ड्रोम अवस्थाको बच्चा जन्मिने गर्दछ।

डाउन सिन्ड्रोमको पहिचान
डाउन सिन्ड्रोम भएका बच्चाहरुमा केही लक्षणहरु स्पष्ट देखिन्छन्। जसबाट तापनि निश्चित गर्न भने क्रोमोजोम परीक्षण गर्नुपर्दछ। जसलाई क्यारियोटाइपिई परीक्षण भनिन्छ। बच्चाहरु ठूलो हुँदै गएपछि यिनीहरुको अनुहार तथा शारीरिक बनोटमा धेरै समानता देखिन थाल्दछ।

डाउन सिन्ड्रोम अवस्थामा देखिने लक्षणहरु
–जन्मँदा कम तौल हुने
–जोर्नीहरु खुकुलो हुने
–मांसपेशीहरु खुकुलो हुने
–अनुहार गोलो हुने
–आँखा अलि छड्के हुने
–नाक सानो र डाँडी नहुने
–खाने मुख सानो देखिने
–मुखभित्रको तालुमा गहिरो खाल्डो देखिने
–जिब्रो प्रायस् बाहिर निकालिरहने
–जिब्रो चुसिरहने
–जिब्रो मोटो र फुटेको जस्तो देखिने
–कान सानो हुने
–टाउको सानो र पछाडिको भाग फराकिलो हुने
–दाँत मिलेर नआउने र कुनैकुनै आउँदै नआउने
–हात र खुट्टाको पाखुरा र पिडौँलाको लम्बाइ छोटो हुने
–छाती परेवाको जस्तो उठेको हुने
–पेट केही ठूलो आकारको हुने
–हातखुट्टा भ्यात्त परेको हुने
–औंला छोटो र मोटो हुने
–गर्दन छोटो र मोटो हुने
–छाला सुक्खा र एलर्जी छिट्टै देखापर्ने
–खुट्टाको बूढीऔंला र अरु औंलाबीचको दुरी बढी हुने
–उचाइ कम हुने
–शारीरिक तथा मानसिक विकासमा सुस्तता अर्थात् मन्दता
–हाडजोर्नी खुकुलो र फितलो जिउ
–हत्केलाको मध्यभागमा एउटा मात्र रेखा
–हातको कान्छी औँलाको बीचको जोर्नी सानो हुने र त्यहाँ रेखा नहुने

माथि उल्लिखित लक्षणहरु डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीहरुमा पूर्ण वा आंशिक रुपमा देखा पर्न सक्छन्।

के डाउन सिन्ड्रोम निको हुन्छरु
डाउन सिन्ड्रोम भनेको रोग होइन र यो कसैलाई सर्दैन। यो प्रकृतिक अपरिवर्तनीय अवस्था हो। जुन जन्मजात बच्चासँगै आएको हुन्छ। यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान जारी नै छ तर अझैसम्म पनि यसलाई निको पार्ने तरिका पत्ता लागिसकेको छैन।

के डाउन सिन्ड्रोम अवस्थाका केटाकेटी तथा व्यक्तिहरु स्वस्थ्य हुन्छन्रु यी बच्चाहरुको स्वास्थ्य सामान्य स्तरमा राम्रै हुन्छ तर केही स्वास्थ्य समस्याका कुराहरु छन्। जुन यी बच्चाहरुमा देखिनु स्वाभाविक मानिन्छ। त्यसैले हरेक अभिभावकहरुले आफ्नो घरमा यी अवस्थामा बच्चाको जन्म भइसकेको स्थितिमा यस विषयमा जानकारी लिनु अति नै आवश्यक हुन्छ। आफ्ना बच्चाहरुलाई समय समयमा जाँच गराइराख्न पनि अत्यन्तै जरुरी छ। बच्चाहरुको जाँच निश्चित समयको फरकमा नियमित गर्नुपर्छ। जसले गर्दा कुनै पनि समस्या समयमै पत्ता लागोस् र समयमा नै त्यसको उपचार गराई बच्चाको जीवन सुरक्षित पार्न सकियोस्।

डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुलाई यस्ता शारीरिक र बौद्धिक विकासमा सहयोग पुग्ने खालका कार्यक्रमहरु मार्फत उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मुख्यतः निम्न विशेषज्ञहरुको सहयोग चाहिन्छ।

अभिभावक (आमा, बाबु ,भाइ, बहिनी)
डाक्टर
फिजियोथेरापिष्ट
स्पिचथेरापिष्ट
अकुपेशनल थेरापिष्ट
म्युजिक थेरापिष्ट
डान्स थेरापिष्ट
भोकेसनल थेरापिष्ट
व्यावहारिक थेरापिष्ट
विशेष शिक्षकरशिक्षिका

साभार : स्वाथ्य खबर

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु