गृहपृष्ठ जनताका गुनासो सुन्ने ‘कल सेन्टर’ नै समस्यामा

जनताका गुनासो सुन्ने ‘कल सेन्टर’ नै समस्यामा

फाेन उठाउन पुग्दैनन् कर्मचारी

hello sarkar-newskarobar

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को हेलो सरकारले सञ्चालन गरेको ‘कल सेन्टर’ दक्ष जनशक्तिको अभावका कारण ‘बेकार’ बनेको छ । आजभोलि यसको प्रभावरीतामाथि नै प्रश्न उठ्न थालेको छ ।
गत मंसिरदेखि नै हेलो सरकारको सट्टामा ‘कल सेन्टर’ सञ्चालनमा ल्याए पनि दक्ष जनशक्तिको अभावले यो व्यवस्थित रुपमा सञ्चालन हुन नसकेको हेलो सरकारका प्रमुख प्रद्युम्नप्रसाद उपाध्याय बताउँछन् ।
सरकारले हेलो सरकारको सट्टामा जनताका गुनासोलाई छिटोछरितो रुपमा सञ्चालन गर्नका लागि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको थियो ।
सर्वसाधारणका गुनासोलाई प्रत्यक्ष रुपमा सम्बन्धित अधिकारीलाई सुनाएर तत्काल नै समस्याको सम्बोधन गर्नका लागि कलसेन्टर सञ्चालनमा ल्याए पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको उपाध्यायले बताए । ‘जुन उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याइयो, त्यसअनुरुप कार्य अगाडि बढाउन सकिएको छैन,’ उनले भने, ‘दक्ष जनशक्तिको अभावका कारण कलसेन्टरलाई व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्न नसकेका हौं ।’
कलसेन्टरका लागि आवश्यक प्रविधि भए पनि दक्ष जनशक्तिको अभावले भएका सफ्टवेयरको नेटवर्किङ गर्न नसकिएको पनि उनको भनाइ छ । ‘हामीसँग हेलो सरकार सञ्चालन गर्दा बेलाका नै कर्मचारी छन् ।’ प्रमुख उपाध्यायले भने, ‘त्यति मात्र कर्मचारीले कल सेन्टर सञ्चालन गर्न सकिदैन भनेर थप कर्मचारी माग गरेका छौ ।’
कलसेन्टर सञ्चालनका लागि बिहान सातजना, दिउँसो सातजना र साँझ पाँचजना कर्मचारीको आवश्यकता भएकाले सोहि अनुरुप सम्बन्धीत निकायसँग माग गरिएको उनले जानकारी दिए ।
अहिले बिहान, दिउँसो र साँझगरी दुई÷दुई जनाका दरले कर्मचारीलाई व्यवस्थापन गरिएको छ । कलसेन्टर सञ्चालनका लागि ‘अमियो’ नामक नयाँ सफ्टवेयर ल्याइएको छ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासो फोनमार्फत टिपिरहनुका सट्टा आएका ती गुनासोलाई सिधैँ सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा कलसेन्टरमार्फत पु¥याउने र गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको थियो ।

यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवलगायत सम्बन्धीत व्यक्तिको मोबाइल नम्बरमा गुनासो पुग्ने गर्दछ । यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उनीहरुको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो ‘रेकर्ड भ्वाइस’ पठाइन्छ र व्यस्ततापछि उनीहरुले ‘रेकर्ड भ्वाइस’ सुनेर समस्याको सम्बोधन गरी कल सेन्टरमा पठाउने व्यवस्था छ ।
त्यसपछि कल सेन्टरले सम्बोधन गरिएको गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा रेकर्ड भ्वाइस पठाउने व्यवस्था छ । तर, अहिले कलसेन्टरले ती कार्य गर्न सकेको छैन् । हेलो सरकारमा सर्वसाधरणले फोनसँगै फेसबुक र ट्वीटरबाट समेत गुनासा राख्ने गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ कात्तिक १७ गतेबाट जनताका गुनासोलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सरकार सञ्चालनमा ल्याएका हुन् ।
अहिलेसम्म हेलो सरकारमा ७४ हजार ६८८ गुनासो आएकामध्ये ५९ हजार ८१४ सम्बोधन भएका र १४ हजार ४६४ गुनासो सम्बोधन गर्न बाँकी रहेको हेलो सरकार प्रमुख उपाध्यायले बताए ।

प्रकाशित समय ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु