गृहपृष्ठ मेयरले नगरपालिकालाई महेन्द्रनारायण निधि बनाउन खोजेपछि धनुषामा बबाल

मेयरले नगरपालिकालाई महेन्द्रनारायण निधि बनाउन खोजेपछि धनुषामा बबाल

असन्तुष्ट पक्षको आक्रोस– व्यक्तिकै राख्ने भए सहिद दुर्गानन्द झाको नामबाट राखौं

धनुषाको नगराइन नगरपालिकाको फुलगामास्थित श्री आधारभुत विद्यालयका प्रधानाध्यापक रामनारायण पंजियारले यही असोज २० गतेपछि उमेर हदको कारण अवकाश पाउँदै छन् । विद्यालयका प्रध्यानाध्यापकको हिसाबले विद्यालयको प्रशासनिकदेखि लिएर अन्य विद्यालयको कामकाज उनले स्वभाविक रुपमै गर्नु, गराउनु पर्ने हुन्छ । उमेर हदले एक महिनापछि अवकाश पाउन लागेका पंजियार जाँदा जाँदै विद्यालयको आय व्यवसहितको अन्य कामकाज गर्न व्यस्त छन् । तर, विद्यालयको प्रशासनिक कामकाज औपचारिक रुपमा कानुनी तवरले नगर्दै आफ्नो अवकाश हुने हो कि भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।

उनको अवकाश, आयव्यय विवरणदेखि लिएर विद्यालयको अडिट गराउनेसम्मका कामको बाधक बनेको छ, करिब डेढ महिनादेखि नगराइन नगरपालिकामा भएको तालाबन्दी । साउन ११ गतेदेखि नै नगराइन नगरपालिकामा तालाबन्दीका कारण समस्या भोग्ने पंजियार प्रतिनिधि पात्र मात्र हुन् । पंजियार जस्ता धेरैले नगरपालिकाको अनुत्तरदायी नेतृत्वका कारण समस्या भोगिरहेका छन् ।

प्रधानाध्यापक पंजियार अवकास हुनु पहिले अर्थिक हिसाबकिताब चुस्त बनाएर हस्तातरण गरी अबकाश लिन चाहान्छन् । तर, एउटा विद्यालयको प्राधानाध्यापकले आफूले गरेका कामको जवाफदेहीता र उत्तरदायित्व लिँदै सबै हिसाब देखाएर छाड्छु भन्न पनि पाएका छैनन् । किनकि झण्डै डेढ महिनादेखि नगरपालिकामा तालाबन्दी भएको छ । नेपालको संविधानले शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई दिएपछि पंजियार नगरपालिकाप्रति उत्तरदायी हुँदै हिसाब देखाउन चाहान्छन् । तर, नगरपालिकाका कार्यकारीहरु अनुत्तरदायी भएपछि पंजियारको उत्तरदायित्वले मात्र परिणाम दिन नसक्ने देखिएको छ ।

पंजियार नगरपालिकाबाट विद्यालयको आर्थिक गतिविधिको अडिटका लागि अडिटर्स फर्मको टुङगो लगाउन चाहान्छन् । तर महिनौदेखि नगरपालिका बन्द भएर अडिटरको टुङगो लगाउन नसकेकाले गर्दा अबकाश हुनै लाग्दा पंजियार हुन सम्मको सकसमा छन् । अडिटर्स फर्मको टुंगो लगाउन नगरपालिका नखुलेकाले उनले आफूले गरेका काम चाहेर पनि देखाउन पाएका छैनन् ।

धनुषाको नगराइन नगरपालिकाकै अकौरा विर्तास्थित श्री अखिलेश्वरनाथ राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक रामसरोज यादवले नगरपालिकामा तालाबन्दी भएर आउन लागेको दशँै, तिहार र छठको बेलामा समेत तलब खान पाउने कि नपाउने चिन्ता बढेको बताएका छन् । उनका अनुसार नगराइन नगरपालिकामा शिक्षकहरुले साउन महिनादेखि तलब पाउन सकेका छैनन् ।

तालाबन्दीले नगरपालिकाबाट हुने दैनिक कामकारवाही प्रभावित हुनुको साथै नगरपरिषद्बाट पास भएका कार्यक्रम र योजना लागु हुन सकेका छैनन् । कार्यालय नखुलेकाले नगरपालिकाबाट सम्पादन भएका निमार्ण सम्बन्धी कामहरुको कार्यसम्पादन, नगरको वार्षिक आर्थिक विवरण, लेखा परीक्षण, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदनसहितको कामकाज प्रभावित भएको नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतो बताउँछन ।

तालाबन्दीकै क्रममा नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोेकोसमेत सरुवा भएकाले नगरपरिषद्बाट पास भएका कार्यक्रम र योजनाहरु अलपत्रमा पर्नुको साथै कार्यक्रम समयमै सकिन समस्या हुने जटहीका स्थानिय बुद्धिजीवी जिवछ महतोले बताए । उनका अनुसार नगरपालिकाको नाम परिवर्तन गर्न खोज्दा असन्तुष्ट वाडा अध्यक्षहरुले तालाबन्दी गरेका हुन् । लामो समयसम्म तालाबन्दी भई रहनुले नराम्रो सन्देश प्रवाह भई रहेकाले यथासम्भव चाँडै स्थानीय प्रशासन, स्थानीय तहका प्रमुख वा सम्बन्धित निकाय जिल्ला समन्वय समितिले ताला खुलाउन पहल गर्नुपर्ने उनको भनाई छ ।

 

डेढ महिनादेखि किन बन्द छ नगरपालिका ?
नगराइन नगरपालिकाको नगरपरिषद् शान्तिपूर्ण रुपमा चलीरहेको बेला अचानक विना छलफलको नगरपरिषद्को माइनुट (निर्णय पुस्तिका)मा नगरपालिकाको नाम परिर्वतन गरि ‘महेन्द्र नारायण निधि नगरपालिका’ राख्ने प्रस्तावको साथै निर्णय गरी उपस्थित वाडा अध्यक्ष तथा अन्य सहभागिहरुबाट हस्ताक्षर गराउन थालियो । उक्त कार्यको विरोधमा नगरपालिकाका असन्तुष्ट वडाध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरे ।

विना छलफल नगरपरिषदको बैठकमा प्रस्ताव लगेपछि असन्तुष्ट ४ जना वडाध्यक्षहरुले नगरपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा साउन ११ गतेदेखि तालाबन्दी गर्दै आन्दोलित भएका छन् । नगराइन नगरपालिकामा हाल ९ वडा रहेकोमा ५ वाडासहित मेयर, उपमेयर नेपाली कांग्रेसका छन् । नगरपालिकामा कांग्रेस स्पष्ट बहुमतमा भए तापनि दुई तिहाइको बहुमत नरहेकाले नगरपालिकाकै स्थानीयसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिका स्वर्गीय वुवा महेन्द्र नारायण निधिको नामबाट नगरपालिकाको नामाकरण गर्ने योजना प्रभावित भएको छ ।

यसबाट राजनीतिक दल र तिनका नेतामा रहेको ख्यातिको लोभ प्रष्टै देखिन्छ । कसैको नामबाट नगरपालिकाको नामाकरण गराउने चाहानाले सर्वसाधारण जनताका कामलाई जनप्रतिनिधि हौं भन्नेहरुले डेढ महिनादेखि अलपत्र पार्न पाइन्छ कि पाइदैन ? यो गम्भीर प्रश्न हो ।

उता, नेपाली कांग्रेसले आफ्ना नेताको नामबाट नगरपालिकाको नामाकरण गर्न खोजेपछि आन्दोलित बनेका वडाध्यक्षहरुको पनि आफ्नै तर्क छ । आन्दोलित वाडा अध्यक्षहरुले नगरपालिकाको नाम परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता नै नरहेको बताएका छन् । व्यक्तिकै नाममा नगरपालिकाको नाम राख्ने हो भने यसै नगरपालिकाबाट पञ्जायतकालमै तत्कालीन नेपाली कांग्रेसकै अभियन्ता सहिद दुर्गानन्द झा, राज्यपक्षद्वारा वेपता पारिएका डा. लक्ष्मीनारायण झा वा भोगौलिक रुपमा राख्ने हो भने जमुनी नदी तथा माता सिताको नामबाट नगरपालिकाको नामाकरण गर्न असन्तुष्ट पक्षले विकल्प दिएको छ ।

शक्तिमा रहेका बेला आफ्नो नेताको नामबाट नगरपालिकाको नामाकरण गर्ने तर, पञ्चायतकाविरुद्ध आवाज उठाउँदा मारिएका सहिदहरुलाई वेवास्ता गर्ने कार्य कदापी स्वीकार्य नहुने असन्तुष्ट पक्षको चेतावनी छ । असन्तुष्ट पक्षले एउटै व्यक्तिको नामले चारैतिर नामाकरण गर्न नहुने भन्दै असन्तुष्ट ४ वाडाका अध्यक्षहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । असन्तुष्ट सबै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध हुन् ।

 

नगरमा तालाबन्दी, वडा कार्यालयबाट कार्यसम्पादन हुँदै
नगराइन नगरपालिकाको कार्यालयमा असन्तुष्ट ४ वडाका वडाअध्यक्षहरुले तालाबन्दी गरे पनि वडा कार्यालयहरुबाट भने निर्बाध कार्यसम्पादन गरिँदै आएको छ । वडा कार्यालय सञ्चालन भइरहेकाले सर्वसाधारणको जन्मदर्ता, मृत्युदर्ता, अन्य सिफारिसको कामहरु हुँदै आएको भए पनि वडा कार्यालयबाटै हुने विकासका गतिविधिहरु भने बजेट अभावले ठप्प छन् । वडा कार्यालयमा वडा अध्यक्षहरु नियमित आउने गरेको भए पनि नगरपालिकाबाटै हुनुपर्ने जनताको कामकाज भने पूर्ण रुपमा प्रभावित भएको छ ।

 

के छ ताला खोलाउने रणनीति ?
झण्डै डेढ महिनादेखि बन्द रहेको नगरपालिकाको तालाबन्दी खोलाउन धनुषास्थित जिल्ला समन्वय समितिले खासै पहल गरेको देखिँदैन । नेपाली कांग्रेसकै तर्फबाट जिल्ला समन्वय समिति धनुषाको सभापतिमा निवार्चित भएका रामदेव वनरैत यादवले नगरपालिकामा महिनौदेखि भएको तालाबन्दीबारे स्थानीय तहमै गएर असन्तुष्ट पक्षसँग छलफल गरेका छैनन् ।

 

स्थानीयको आरोप- मेयरले चासो लिएनन्
उता नगरपालिकाका स्थानीयले भने नगरपालिकामा डेढ महिनादेखि तालाबन्दी भए पनि त्यसलाई खुलाउन नगरप्रमुखले चासो नदिएको आरोप लगाएका छन् । नगर प्रमुखलाई जनताको काम गर्नुभन्दा पनि बढी आफ्नो नेताको नामबाट नगरपालिकाको नामाकरण गरी पार्टी नेतृत्वलाई सन्तुष्ट पार्ने ध्याउन्न बढी भएको आरोप लगाउँछन् ।

स्थानीयहरु नगरप्रमुखले नगरपालिकाको नाम महेन्द्रनारायण निधि राखेर उनका छोरा कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई खुसी पार्न खोजेको आरोप लगाउँछन् । निधि कांग्रेसको उपसभापति र नगरपालिकाका स्थानीय पनि भएकाले आफ्ना बाबुको नामबाट नगरपालिकाको नामाकरण गर्न उनकोसमेत प्रयास भएको स्थानीयको आरोप छ । अर्कातर्फ प्रभावशाली नेता भएर पनि विमलेन्द्र निधिले नगरपालिकाको ताला खुलाउन पर्याप्त चासो नदिएकोले नगरपालिकाका स्थानीय उनीसित आक्रोसित हुन थालेका छन् ।

उता नगरप्रमुख भने नगरपालिकाको तालान्दी खुलाउने प्रयास गर्नुको सट्ट काम अबरुद्ध भएपछि स्थानीय तालाबन्दी गर्नेसँग आक्रोशित हुने र आफ्नो इच्छा बमोजिम नगरपालिकालाई महेन्द्रनारायण निधि नामाकरण गर्न सहज हुने रणनीतिमा रहेको स्थानीयको आरोप छ । जनतामा असन्तोष बढेपछि तालाबन्दी गर्नेविरुद्ध स्थानिय आक्रोशित हुने र असन्तुष्ट पक्ष आफैँ ताला खोल्न वाद्य हुने रणनीतिमा नगरप्रमुख परमेश्वर यादव रहेको स्थानियहरुकै भनाई रहेको छ । तर, नगरप्रमुख अनुत्तरादायी र गैरजिम्मेवार बनेको भन्दै स्थानीयबासीहरु उनीसँगै आक्रोसित छन् । उता आफ्नै नेताको नामबाट नगरपालिकाको नामाकरण गर्न जनतालाई मर्का पर्ने गरी अडान लिइरहँदा नगरप्रमुको लोकप्रियता खस्केको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । यो तालाबन्दी प्रकरणले कांग्रेस उपसभापति विमलेन्द्र निधिको भावी राजनीतिलाई पनि प्रभावित पार्नसक्ने स्थानीयको बुझाइ छ ।

 

याे पनि पढ्नुस् :

निधिकाे नामबाट नामाकरण गर्न खाेजेपछि नगरपालिका महिना दिनदेखि बन्द, कार्यकारी अधिकृतको सरुवा, ताला खुलाउन मेयर उदासिन

प्रकाशित समय ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु