गृहपृष्ठ केपी ओलीका तीन वर्ष : समृद्धिका अवसर खेर

केपी ओलीका तीन वर्ष : समृद्धिका अवसर खेर

KP Oli_NewsKarobar

राजनीतिक स्थिरता र समृद्धिका नारासहित बाम गठबन्धन गरेर बलियो बहुमतसहित केपी शर्मा ओली सत्ताको भर्‍याङ उक्लिएको आज तीन वर्ष पूरा भएको छ । तर, चमत्कारपूर्ण विकासका सपना बाँड्दै २०७४ फागुन ३ गते सत्तारोहण गरेका ओलीका तीन वर्ष समृद्धिका अवसर खेर फाल्दै बितेका छन् । उल्टै तानाशाही र निरंकुश शैलीमा प्रस्तुत भएर संविधान कुल्चिँदै जनताको लोकतान्त्रिक शासन व्यवस्थाको अभिलाषामाथि प्रहार गरेका छन् ।

तीन वर्षमा नियमितबाहेकका कुनै काम गर्न नसकेका ओलीले समृद्धि त कता स्थायित्वसमेत दिन सकेनन् । आफू मात्र स्थायी भए पुग्ने उनको ध्येय देखियो । मन्त्री र सचिवहरू ‘बेबी डल’ जस्ता बनाइए । ओली भ्रष्टाचार र कुशासनका पर्यायमात्र बनेनन्, संसद विघटन गरेर राजनीतिक अस्थिरताका कारक पनि बने ।

तथापि, ओली सरकार समृद्धिको गफ गर्न चुकेको छैन् । आफ्ना टिमका मान्छेबाट जयजयकार सुन्ने अभीष्टले उद्वेलित भइरहने ओलीले कहिल्यै सिर्जनात्मक आलोचनालाई स्वीकार गर्न सकेनन् । धरहरा र रानीपोखरी निर्माणलाई सधैँ विकास र समृद्धि द्योतकका रुपमा प्रचार गरिरहे । उनका विकासका प्रचारलाई उनकै जयगान गाउनेहरूबाहेकले सुन्नसमेत सक्ने स्थिति भने छैन ।

तीन वर्षको अवधिमा कुरा गर्न योग्य कुनै काम ओलीबाट भएन । सुशासनका चित्रहरू कोरिएनन् । बरु, ओम्नी, यति, ७० करोडको टेपकाण्डदेखि जयगान गाउनेलाई दिइएका सरकारी नियुक्तिले ओलीलाई झनै कमजोर बनाइदियो । संसद विघटन गरेर आफूलाई संविधानभन्दा माथि ठानेका ओलीलाई नजिकका कानुन व्यवसायी र नेताहरूले श्री ३ र श्री ५ भन्दा बढी शक्तिशाली प्रधानमन्त्रीका रुपमा चित्रित गरिरहनुले पनि उनको अपेक्षालाई छर्लंग पारिरहेको छ ।

राजनीतिक विश्लेषकहरूले ओलीलाई राजनीतिक, आर्थिक र सामाजिक तीनै हिसाबले असफल भएको टिप्पणी गर्न थालेका छन् । संसद विघटन, पार्टी फुट र राजनीतिक अस्थिरताका कारक बनेका ओलीको कार्यकालमा आर्थिक रुपमा कुनै लाभ नेपालले पाएन । उत्पादन बढेको छैन । आयात तात्विक रुपमा घटेको छैन । निर्यात बढाउन नसक्दा वैदेशिक व्यापार नै ओरालो लागेको छ । शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीमा कुनै सुधार छैन । बलात्कार र हत्याका घटनामा कुनै कमी आएको छैन ।

देशमा दलाल र अपराधीहरूको राज चलेको छ । त्यसलाई प्रश्रय दिने र संरक्षण गर्ने काम प्रधानमन्त्री, मन्त्री र सचिवालयबाटै भएको आशंका भइरहेका छन् । प्रणाली भताभुंग पारिएको छ ।

जयगान गाउनेहरूको शैलीले पनि ओली थप व्यक्तिवादी बन्दै गएका छन् । शक्ति प्रदर्शनका नाममा देशका विभिन्न स्थानमा भइरहेका सभाले पनि यसलाई स्पष्ट गर्छ । सभामा ओलीले आफू स्वयंलाई त सर्वश्रेष्ठ राजनेताका रुपमा चित्रित गर्छन् नै, अन्य वक्ताले पनि त्यसमा मलजल गर्छन् । राजनीतिक एजेन्डाबाट च्युत भएका ओली आफ्नै ठूल्ठूला पोस्टर सजिएको मञ्चमा उक्लिन्छन् र सत्ताको दुरुपयोग गर्दै ओसारेका मानिसलाई टुक्का सुनाएर बस्छन् ।

ओली एकातिर विकास र समृद्धिका काम गर्न नपाएको भन्दै आफ्नै दलका नेताहरूको सत्तोसराप गर्छन् र एकैछिनपछि आफूले विकास र समृद्धिका सन्दर्भमा संसारले गर्न नसकेको काम गरेँ भनेर फुर्ति लगाउँछन् । संसद विघटन पुष्टि गर्ने उनको प्रयासले उनमा रहेको विरोधाषापूर्ण चरित्रलाई उजिल्याइरहेको छ ।

ओलीको कार्यकालमा कुनै पनि ठूला आयोजनाले पूर्णता पाएका छैनन् । गौरवका आयोजनाको प्रगति सन्तोषजनक छैन । असंवैधानिक ढंगले पुस ५ गते संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि संसदीय परम्पराअनुसार ओली स्वतः कामचलाउ भएका छन् । तर, उनी त्यो पनि स्वीकार्न तयार छैनन् ।

मजति जान्ने अरु कोही छैन र मजति राष्ट्रवादी पनि अरु कोही हुन सक्दैन भन्ने चिन्तनबाट ग्रसित ओलीले तीन वर्ष बित्दै गर्दा विकास र समृद्धिका स्वर्णीम अवसर खेरमात्र फालेनन्, संसद विघटन गरेर देशलाई अँध्यारो भुमरीमा धकेलिदिएका छन् । तीन वर्षको अवधिमा उनले गरेको एउटै राम्रो काम हो‑ कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा प्रकाशित र यसलाई राष्ट्रिय चिह्नमा समावेश गर्न संविधान संशोधन । तर, यसलाई पनि ओझेलमा पार्ने गरी ओलीले हाल गरिरहेका कृत्यहरू इतिहासमा कलंकित बनेर रहने निश्चितप्रायः भएको छ ।

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु