गृहपृष्ठ कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?

कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?

सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ ।

डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, जाजरकोट र रुकुम गरी ९ जिल्लाका स्कुलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । आयोडिनको कमीले गलगाँड देखिने समस्या कम गर्न नुनमा अनिवार्य रूपले आयोडिन मिसाएर प्रचलनमा ल्याएजस्तै चामल लगायतका खाद्य पदार्थमा सूक्ष्म पोषक तत्त्व मिलाएर उपयोगमा ल्याउने प्रक्रियालाई ‘फोर्टिफिकेसन’ भनिन्छ ।

हाल मुलुकका केही जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत विद्यालयमै हलुवा पकाएर विद्यार्थीहरूलाई खुवाउने गरिन्छ । यसरी दिनहुँ एक विद्यार्थीलाई ११० ग्रामको ३९० क्यालोरी दिवा खाजा (हलुवा) खुवाइन्छ । ‘पाइलट प्रोजेक्टका रूपमा दैलेखमा गत वर्षदेखि नै दिवा खाजा हलुवाको सट्टा फोर्टिफाइड राइस दिन थालिएको हो,’ शिक्षाका लागि खाद्य कार्यक्रमका निर्देशक विष्णु भण्डारीले भने, ‘यसको राम्रो परिणाम देखिएपछि थप ९ जिल्लामा विस्तार गर्न लागिएको हो ।’ यसअन्तर्गत प्रत्येक विद्यार्थीका लागि ८० ग्राम थप पोषक तत्त्व मिसिएको चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम आयोडिन मिसिएको नुनबाट जाउलो, दालभात वा फ्राइड राइस बनाएर खुवाइने छ ।

विद्यालय जाने उमेरका बालबालिका शिक्षाको पहुँचबाहिर नहुन् र विभिन्न अवस्थाका कारण विद्यालय आउन नसकेका समुदायका बालबालिका विद्यालय आउन सकुन् भन्नका लागि मध्य दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यसले ती समुदायका बालबालिकामा पोषणको स्थितिलाई समेत थप बलियो बनाउने भण्डारी बताउँछन् । आधारभूत विद्यालयका २ लाख ३६ हजार बालिबालिकालाई फोर्टिफाइड चामलद्वारा निर्मित खाजा कार्यक्रमले समेटिने भण्डारीले बताए ।

फोर्टिफाइड चामलमा स्थिति हेरेर ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म चामल जस्तै देखिने सूक्ष्म पोषक तत्त्व भएको खाद्य पदार्थ मिसाइएको हुन्छ । आम जनसंख्यामा वा कुनै खास लक्षित जनसंख्यामा देखिएको पोषक तत्त्वको कमीलाई पूरा गर्न सैद्घान्तिक रूपमा कुनै भिटामिन र खनिजको कुनै पनि संयोजनलाई चामलमा थप्न सकिन्छ । तर चामलमा हालसम्म पानीमा घुल्ने भिटामिन बी १ (थाइमिन), बी ३ (नियासिन), फलिक एसिड, बी १२, बी ६ र सी एवं बोसोमा घुल्ने भिटामिन ए, ई र डी एवं मिनरलअन्तर्गत आइरन, जिंक, सेलिनियम, क्याल्सियम छन् भने अन्य पोषक तत्त्वमा वेटा कैरोटिन, लाइजिन, फाइवरहरू सफलतापूर्वक हालिएका छन् ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु