गृहपृष्ठ होटल सोल्टीमा बिमस्टेक रिट्रिट
होटल सोल्टीमा बिमस्टेक रिट्रिट
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) भएको छ ।
सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा उनीहरुका जीवनसाथी पनि सहभागी थिए ।
रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको थियो । सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरुको श्रीमती÷श्रीमानलाई बेग्लै टेबलको व्यवस्था गरिएको थियो । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष÷सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको थियो ।
बिमस्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरुको जीवनसाथीलाई स्वागत गरे । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलार्ई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला/विदेशमन्त्री/राज्यमन्त्री पनि सहभागी थिए । उनीहरुलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए । त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिला/विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए ।
नितान्त निजी एवं ऐकान्तिक भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो । रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष/त सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाएका थिए ।
औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा यस्ता भेटवार्ता उपयोगी हुने पूर्व पराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले बताए । ‘रिट्रिटलाई अनौपचारिक राजनीतिक परामर्श गर्ने माध्यमका रुपमा प्रष्ट्याउँदै उनले मनका कुरासमेत गर्न पाइने स्थल नै रिट्रिट हो भने ।’
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा पनि राजनीतिक संवादका निम्ति रिट्रिटको प्रावधान रहेको स्मरण गराउँदै उनले औपचारिक ‘एजेण्डा’मा छलफल नै नहुने विषय रिट्रिटमा विचारविमर्श हुने गरेको बताए ।
रिट्रिटमा द्विपक्षीय, बहुपक्षीय मामिलाका साथै क्षेत्रीय र अन्तर्र्रािष्ट्रय चासोका विषय मात्र होइन जारी सम्मेलन/बैठकमा आफ्नो प्रस्तावको विरोध वा समर्थन के हुनसक्छ भन्ने बुझ्न र आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास हुने पूर्व राजदूत आचार्यले उल्लेख गरे ।
(रासस)
प्रकाशित समय ११:५० बजे