गृहपृष्ठ नेकपाको सचिवालय बैठक बुधबार पनि बस्दै
नेकपाको सचिवालय बैठक बुधबार पनि बस्दै
पार्टी एकता तथा सरकारको कामकारबाहीको समीक्षा हुने
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठकमा तल्ला तहको पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीको समीक्षालगायतका एजेण्डामा छलफल हुने नेकपा स्रोतले जानकारी दियो । आईतबार र सोमबारको बैठकमा पार्टीको आन्तरिक विवाद प्रदेश पदाधिकारी चयनलगायतका विषयमा छलफल भएको र थप विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
‘पार्टी एकता, प्रदेश जिम्मेवारी बाँडफाँट, स्थायी कमिटि बैठकका ऐजेण्डालगायतका विषयमा छलफल हुनेछ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बैठकले कार्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी किमिटी बैठकको ऐजेण्डासमेत तय गर्नेछ । स्थायी कमिटी बैठकले पार्टीको तल्ला तहको एकीकरण प्रक्रिया टुंगो लगाउने भनिएको छ ।
त्यसपछि कार्यकर्ता तथा जनपरिचालनसम्बन्धी योजना पनि बनाउने छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियोे ।
केन्द्र्रमा एकता भएर नेकपा बने पनि तल्ला कमिटीहरुको एकता अझैसम्म पनि हुन सकेको छैन । जसका कारण पार्टीका गतिविधिमा प्रत्यक्ष असर परेको नेकपाकै नेताहरुले बताउँदै आएका छन् ।
त्यस्तै प्रदेश इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिए पनि त्यसमा विवाद देखिएको छ । माधव नेपाल समूहले त्यसमा चर्काे असन्तुष्टि जनाउँदै आएको छ । उक्त विवाद सल्टाउन सचिवालय बैठक बोलाइएको हो ।
वरिष्ठ नेता माधवकुमार नेपालले लिखित रुपमा पेश गरेको असहमतिको बारेमा भने आइतबार र सोमबारको बैठकमा छलफल भएको थियो ।
कार्तिक महिनाभित्र प्रदेश, जिल्ला, स्थानीय तह र वडा कमिटीसम्मको एकीकरण टुंगो लगाउने तालिका बनाएको नेकपाले मंसिरदेखि अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी र सरकारविरुद्ध विभिन्न माध्यमबाट आक्रमण भइरहेको भन्दै नेकपाले संगठनलाई अझ शसक्त पार्न र कम्युनिष्ट एकताको लहर सिर्जना गर्ने अभियान सुरु गर्न लागेको नेताहरुले बताएका छन् ।
प्रकाशित समय ११:०५ बजे
















