गृहपृष्ठ प्रधानमन्त्री दाह्री काटेर चिटिक्क पर्नुभएको छ : डा. सायमी
प्रधानमन्त्री दाह्री काटेर चिटिक्क पर्नुभएको छ : डा. सायमी
महरा र भट्टराईद्वारा प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको जानकारी
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उनको स्वास्थ्यलाभको कामना गरेका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न महरा मंगलबार बिहान ८ बजे त्यहाँ पुगेका थिए ।
भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए । त्यसैगरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । उनी पनि मंगलबार विहानै अस्पताल पुगेका थिए ।
ओलीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा.डा. अरुण सायमीले भने, ‘प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।’
प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ ।
छातिमा संक्रमण देखिएका कारण प्रधानमन्त्रीलाई उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार भर्ना गरिएको थियो ।
तस्बिर : रासस
प्रकाशित समय १२:५० बजे
















