गृहपृष्ठ मन्त्री सोडारीलाई बर्खास्त गर्नुका चार कारण

मन्त्री सोडारीलाई बर्खास्त गर्नुका चार कारण

नेकपामा गुट सक्रिय, सोडारी गुटबन्दीकै सिकार

dirgha-sodari-newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र गुटबन्दी झाङ्गिदै गएको छ । केन्द्रमा प्रधानमन्त्रीसहित तीन नेताको संरक्षकत्वमा गुटबन्दी चलिरहेको नेकपाको सत्ता र शक्तिको खेलमा प्रदेश सरकार पनि फस्दै गएको हो । यसको पछिल्लो उदाहरण हो– मन्त्री दीर्घबहादुर सोडारीको बर्खास्तगी ।

आवरणमा पदीय आचरणविपरीत कार्य गरेको भन्दै पदबाट हटाइएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी गुटबन्दीको सिकार बनेको टिप्पणी भइरहेको छ । मन्त्रीलाई बर्खास्त गरिनुको कारणबारे यतिखेर नेकपाभित्र, जनस्तरमा र विपक्षी कांग्रेसमा पनि चर्चा भइरहेको छ । सोडारीलाई हटाउनुका मुख्य चार कारण यी हुन् :

पहिलो कारण : गुटबन्दी
तत्कालीन नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीका विषयमा मन्त्री नियुक्तिकै बखत अर्को गुटले असन्तुष्टि जनाएको थियो । असन्तुष्टिकै बाबजुत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उनलाई नियुक्त गरिएको थियो । सोही असन्तुष्टि झाङ्गिँदै जाँदा उनलाई बर्खास्त गर्नुपर्ने अवस्थासम्म पुगेको नेकपाका स्थानीय नेता बताउँछन् ।

नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार मन्त्री सोडारीविरुद्ध पार्टीभित्रै पनि गुनासो बढ्दै गएको थियो । पार्टीले आन्तरिक रुपमा गुनासो छानबिन गर्दा पदअनुरुपको आचरण नगरेको पुष्टि भएकाले फिर्ता बोलाउने निर्णय गरिएको उनले बताए । उनले सामाजिक विकास मन्त्रालयका योजना सञ्चालन गर्दासमेत आफ्ना निकटका कार्यकर्तालाई मात्र हेरेको आरोप लाग्दै थियो । सोडारीलाई पटक–पटक पार्टीको नीतिअनुसार काम गर्न आग्रह गरे पनि बेवास्ता गरेकाले हटाउनुपरेको उनको प्रस्टोक्ति छ ।

दोस्रो कारण : पदीय मर्यादा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीले पदअनुरुपको आचरण नगरेकाले पदबाट बर्खास्त गरेको बताएका छन् । पटक–पटक आचरण सुधार्न निर्देशन दिए पनि नमानेकाले हटाउनुपरेको उनको प्रतिक्रिया छ ।

तेस्रो कारण : विवादास्पद व्यक्तिलाई संरक्षण
मन्त्री सोडारीको विभिन्न विवादास्पद व्यक्तिसँग साँठगाँठ रहेको आरोप पार्टीले लगाएको छ । विभिन्न आपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भूमिका खेलेकाले पनि उनलाई बर्खास्त गरिएको पार्टी उच्च स्रोतले जनाएको छ । विभिन्न आपराधिक गतिविधिमा संग्लनलाई छुटाउनका लागि जिल्लाका प्रहरी अधिकारीलाई पटक–पटक दबाब दिने गरेको पार्टीले जनाएको छ ।

चौथो कारण : पटक-पटक आलोचना
केही दिनअघि मात्रै गौरीगंगा नगरपालिकाको बडैपुरमा मन्त्री सवार गाडी दुर्घटना भएपछि समेत उनको चर्को आलोचना भएको थियो । गाडीमा मन्त्री सवार थिएनन् । चालकले मन्त्रीको गाडी आफ्ना आफन्तको काममा प्रयोग गरेका थिए । झण्डा फहराउँदै उनले गाडी हुइँकाएका थिए । मन्त्री सोडारी नौ महिने कार्यकालमा विभिन्न घटनामा विवादमा पनि तानिएका थिए । सुरुमा मन्त्रालयमै उल्टो झण्डा लगाउँदासमेत बेवास्ता गरेको भन्दै सोडारीको आलोचना भएको थियो ।

पार्टीको साधारण सदस्यबाट समेत निष्कासित
मन्त्रीबाट बर्खास्त दीर्घ सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ । मंगलबार मन्त्रीबाट बर्खास्त भएका उनलाई साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।

सोडारी कैलाली क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा विजयी हुँदै सामाजिक विकासमन्त्री बनेका थिए । प्रदेश सरकारले उनलाई हटाएर कैलाली क्षेत्र नम्बर ४ को ‘ख’ बाट विजयी कृष्णराज सुवेदीलाई सामाजिक विकासमन्त्री नियुक्त गरिसकेको छ । पार्टी सदस्य नरहे पनि सोडारीको सांसद पद भने यथावत् छ ।

मन्त्री हटाउनु स्वाभाविक : कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले मन्त्री हटाउनु संसदीय अभ्यासमा स्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । न्युज कारोबारसँग कुरा गर्दै डा. रावलले नेकपाले मन्त्री हटाउनुभन्दा सरकारको समग्र कार्यप्रणाली नै परिवर्तन गर्न आवश्यक हरको बताए । सरकार गठन भएको नौ महिना बितिसक्दा पनि जनताको आशाअनुसार काम गर्न नसकेको भन्दै आचरण परिवर्तन नगरे सरकार नै परिवर्तन हुन सक्ने अवस्था आउने उनले चेतावनी दिए । अहिलेसम्मको अवस्था हेर्दा एकजना मन्त्री मात्रै होइन, समग्र सरकारले नै जनताको पक्षमा ठोस काम गर्न नसकेको मन्त्री रावलको भनाइ छ ।

प्रकाशित समय ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु