गृहपृष्ठ चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं : प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् । १ सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।
गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिइनुपर्ने उनले जिकीर गरे । सरकारले नै निर्वाचनको मिति घोषणा नगरे संघीय संसदले कानून बनाएर प्रतिनिधि सभा, राष्ट्रिय सभा र स्थानीयतहको चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने यादवको भनाइ थियो ।
निर्वाचन कानुन संशोधनका लागि सरकारसँग पठाए पनि अहिलेसम्म रेस्पोन्स नभएको यादवले गुनासो गरे । ‘निर्वाचन कानुनमा सुधार र परिमार्जनको आवस्यकता छ, कानुन कहाँकहाँ संशोधन गर्नुपर्ने हो भनेर हामीले केही ड्राफ्ट पठाएका छाैं, सबै निर्वाचन ऐनलाई एकीकृत गर्ने या छुट्टा छुटै गर्नु पर्ने हो सरकारले निर्णय गरोस, संशोधनको समय भयो’ यादवले भने ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी निर्वाचनमा विद्युतीय मतदानको व्यवस्था गर्न र मतदान भएकै स्थल (बुथ)मै मतगणना गर्ने व्यवस्था मिलाउन सुझाव दिए । नेपाल कानून समाजका निर्देशक कृष्णमान प्रधानले निर्वाचन आयोग जस्तो संवैधानिक निकायलाई अधिकार सम्पन्न बनाएमा निश्पक्ष निर्वाचन गर्न आयोग सक्षम हुने बताए ।
२०७४ वैशाख, असार र असोजमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षण सम्बन्धी अन्तिम रिर्पोट आज सार्वजनिक भएको हो । प्रतिवेदनका अनुसार तीनै तहको निर्वाचन शान्तिपूर्ण र धाँधलीरहितरुपमा सम्पन्न भएको उल्लेख गरिएको छ ।
प्रकाशित समय ११:५८ बजे
















