गृहपृष्ठ माधव र झलनाथले भने- सरकारले पार्टीकै बदनाम ग-याे
माधव र झलनाथले भने- सरकारले पार्टीकै बदनाम ग-याे
‘पार्टीसँग समन्वय नगर्दा सरकार अलोकप्रिय’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी नेतृत्वको कार्यशैली र सरकारको काम कर्बाहीप्रति चर्को असन्तुष्टि प्रकट गरेका छन् । सरकारले पार्टीसँग समन्वय नगर्दा सरकरमाथि चौतर्फी आक्रमण भएको उनीहरुको तर्क छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा जारी स्थायी समितिको शनिवारको बैठकमा नेता नेपालले पार्टीसँग समन्वय नगर्दा दुई तिहाइ बहुमतको सरकारले केही काम गर्न नसकेको टिप्पणी गरे । ‘सरकार एकलौटी ढंगबाट काम गर्दै आएकाले निर्णयहरु विवादित र अलोकप्रिय बनेका छन्, सरकारले पार्टीलाई नै बदनाम गराइरहेको छ,’ नेता नेपालको भनाई उदृत गर्दै एक नेताले भने ।
यसअघि पनि पार्टीका विभिन्न निर्णयमा असन्तुष्टि जनाउँदै आएका नेता नेपालले पार्टी एकीकरणको विधिमा त्रुटी रहेको टिप्पणी गरे । गएको असोजमा लिखित असहमति पत्र पार्टीमा बुझाएका नेता नेपालले प्रदेश कमिटी गठनप्रति समेत असन्तुष्टि जनाए । यस्तै बैठकमा वरिष्ठ नेता खनालले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा क्रान्तिको चरणबारे उल्लेख धारणा नमिलेको टिप्पणी गरे । पार्टी एकीकरणको काम पूरा नहुँदा कार्यकर्तामा अन्योल बढेको तथा सरकारले गरेका केही नियुक्तिका कारण जनतामा निराशा छाएको उनको भनाइ थियो ।
शनिवारको बैठकमा नेता नेपाल खनालसँगै गिरिराजमणी पोखरेल, विष्णुप्रसाद पौडेल, रामबहादुर थापाले अध्यक्षद्धवयको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन् ।
आइतबार बिहान ८ बजे पुनः बस्ने बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले बैठकमा उठेका प्रश्नको जवाफ दिनेछन् । बैठक शनिबारै सक्ने तयारी छ । जेठ ३ मा दुई पार्टी एकीकरण भएपछि तेस्रो पटक स्थायी समितिको बैठक बसेको हो । बैठकमा सरकारको नीति कार्यक्रम, बजेटजस्ता महत्वपूर्ण कार्यक्रम बनाउँदा छलफलै नगरेको भनी नेकपा नेताले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
प्रकाशित समय १४:०८ बजे