गृहपृष्ठ मधेस आन्दोलनको १२ वर्ष : मधेसीले के पाए ? के गुमाए ?
मधेस आन्दोलनको १२ वर्ष : मधेसीले के पाए ? के गुमाए ?

पहिलो मधेस आन्दोलनको १२ वर्ष पूरा भएको छ । २०६३ माघ १ गते संघीयता र समावेशिताबिनाको नेपालको अन्तरिम संविधान जारी भएपछि विरोधमा मधेसी नागरिकले आन्दोलन सुरु गरेका थिए ।
मधेस आन्दोलनपछि बनेको नेपालको अन्तरिम संविधान २०६३ ले ‘नागरिकतामाथि कडाइ गरेको, सबैलाई समावेशी कोटामा ल्याइएको’ भन्दै मधेसकेन्द्रित दलहरु असन्तुष्ट बने । माघ २ गते काठमाडौंको माइतीघर मण्डलामा संविधान जलाएर सुरु भएको आन्दोलन मधेस पस्यो ।
संविधान जलाउने मधेसीहरु पक्राउ परेपछि भोलिपल्ट ३ गतेबाट मधेस बन्द सुरु भयो । मधेस बन्दको तेस्रो दिन ५ गते प्रदर्शनका क्रममा सिरहाको लहानमा विद्यार्थी रमेश महतोको प्रहरीको गोली लागेर मृत्यु भयो । त्यसपछि आक्रोशको ज्वाला झन् बल्यो । मधेस आन्दोलनका क्रममा एकजनाले शाहदत प्राप्त गरेको र सबै जिल्ला आन्दोलित भएको सोही दिनको सम्झनामा माघ ५ लाई मधेसीहरुले मधेस बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।
मधेस आन्दोलन २१ दिनसम्म चल्यो । ३४ जना ज्यान गुमाए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुईपटक जनताको नाममा सम्बोधन गरेपछि आन्दोलन रोकियो । प्रदर्शन रोकिएको महिनौंपछि सरकारले उपेन्द्र यादव नेतृत्वको फोरमसँग २२ बुँदे सम्झौता गर्यो ।
नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम र तत्कालै गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा दोस्रो मधेस आन्दोलन भयो । दोस्रो संविधान सभाबाट संविधान जारी गर्न लाग्दा तेस्रो मधेस आन्दोलन भयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा मधेसी दलका कार्यकर्ताले नेपाल–भारतको सीमा क्षेत्रमा बसेर नाका अवरुद्ध गरे ।
संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको थियो । जसबाट मधेस आन्दोलनकर्तालाई आन्दोलन गर्न सहज भएको थियो । सुरुमा मधेस आन्दोलनको नारा ‘एक मधेस एक प्रदेश’ थियो । तर, हाल मधेसको भूभाग ६ वटा प्रदेशमा छ ।
मधेसीले के पाए ?
मधेस आन्दोलनपछि मधेसीहरुले धेरै उपलब्धि हासिल गरेको विश्लेषक तुलानारायण साह बताउँछन् । मधेस विद्रोहको १२ वर्षमा मधेसीमा राजनीतिक चेतना बढेको उनको टिप्प्णी छ । ‘हरेक नागरिक चेतनशील बन्दैछन्, राजनीतिक विषयवस्तु बुझ्न थालेका छन् । युवावर्गमा पनि राजनीतिक चेतना बढेका छ,’ उनले भने ।
मधेस आन्दोलनपछि नेपालले गौण गर्न खोजेको मधेसको पहिचान अन्तर्राष्ट्रियस्तरमा पनि चिनिएको उनको विश्लेषण छ । ‘मधेस विद्रोहअघि कतिपयले आफूलाई मधेसी भन्न रुचाउँदैन थिए । काठमाडौंमा मधेसी भाषा बोल्न पनि डराउँथे । तर, आज मधेसीहरुले गर्वका साथ भन्छन् म मधेसी हुँ । खुलेर आफ्ना भाषा बोल्छन्,’ विश्लेषक साह भन्छन् ।
मधेसी मनभित्र विद्रोहको विस्तार
मधेस आन्दोलनको १२ वर्षमा मधेसीहरुले आफ्नो अधिकार र राज्यको विभेदका विरुद्ध संघर्ष गर्न सिकेका अर्का मधेस विश्लेषक राजेश अहिराज बताउँछन् । यद्यपि, मधेस आन्दोलनबाट मधेसी जनताको मनमा नकारात्मक असर पनि परेको उनको टिप्पणी छ । अहिराज भन्छन्, ‘सामान्य अधिकार पाउन पनि आन्दोलन चाहिन्छ भन्ने मानोविज्ञान मधेसीमा बसेको छ, जसले मधेसीको मनभित्र आन्दोलनको विस्तार गरेको छ ।’
सिके राउतको मुद्दा बलियो हुने खतरा
मधेसको मुद्दा अझै सम्बोधन नभएको भन्दै मधेसकेन्द्रित दलहरुको असन्तुष्टि कायमै छ । सरकार सोहीअनुसार संविधान संसोधन गर्न हिच्किचाइरहेको छ । यसले पुनः द्वन्द्व बढाउने खतरा रहेको विश्लेषकहरुले औंल्याएका छन् । अवसर र पदमा मधेसी जनतका मुद्दा छाड्ने मधेसवादी दलमाथि पनि जनताको विश्वास टुटिसकेकाले मधेसी जनता सिके राउतको पक्षमा आउन सक्नेसमेत खतरा रहेको विज्ञहरु बताउँछन् । डा. विजयप्रसाद मिश्र भन्छन्, ‘मधेसको मुद्दा सम्बोधन नभए जनता बाध्य भएर सिके राउतको मुद्दा अगाडि बढाउनेसमेत खतरा रहन्छ ।’
कोही जुटे, कोही बिलाए
मधेस राजनीतिबाट विक्षिप्त भएका नेता र मधेस आन्दोलनलाई उपयोग गरेर मूलधारको राजनीतिमा फर्किने क्रम पनि बढेको छ । तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका विजयकुमार गच्छदारसहितका नेताहरु पुनः पुरानै पार्टीमा फर्केका छन् । गत वर्ष चुनावअघि उनको दल पुरानै पार्टी नेपाली कांग्रेसमा विलय भयो । मधेस आन्दोलनपछि मधेसका राजनीतिक दलहरु पुनः संगठित एवं सशक्त भएका छन् । मधेसको राजनीतिबाट उदाएका मधेसी पार्टीहरु राष्ट्रिय पार्टी बन्ने दौडमा एकता गरेका छन् । दुई वर्षअघि ६ वटा मधेसी दलले एकता गरी एउटै दल राष्ट्रिय जनता पार्टी (राजपा) बनाएका छन् । भूमिगत समूहहरुले लोकतन्त्र र संवैधानिक प्रक्रियालाई अपनाएका छन् ।
प्रकाशित समय २०:४५ बजे