गृहपृष्ठ चुलियाे व्यापार घाटा, ६ महिनामै ५ खर्ब घाटा

चुलियाे व्यापार घाटा, ६ महिनामै ५ खर्ब घाटा

काठमाडौँ-दैनिक उपभोग्य र विलासिताका सामग्रीहरूको आयात उच्च रहेकाले चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा करिब ५ खर्ब रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार साउनदेखि पुसम्म (६ महिना) मा ४ खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख ९० हजार रुपैयाँले व्यापार घाटा भएको हो । अघिल्लो वर्षको ६ महिनाको तुलनामा १५ दशमलव ५२ प्रतिशतले व्यापार घाटा वृद्धि भएको छ । गत वर्ष ४ खर्ब २७ अर्ब ५३ करोड ७ लाख ४९ हजार रुपैयाँ ६ महिनाको व्यापार घाटा थियो ।

हालसम्मको तथ्यांकअनुसार यो वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँ नाघ्ने निश्चित भएको छ । ६ महिनामा ५ खर्ब ३५ अर्ब ५ करो ५१ लाख ९८ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् ।

निर्यात भने ४१ अर्ब १६ करोड ७० लाख ७ हजार रुपैयाँको मात्रै भएको छ । तथ्यांकअनुसार आयात १५ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ । निर्यातको वृद्धि भने १३ दशमलव ७२ प्रतिशत मात्रै छ ।

७८ अर्ब ८९ करोड रुपैयाँको इन्धन आयात भएको छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ ।
भारतबाट ६ महिनामा ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख ९० हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् । निर्यात भने २३ अर्ब २६ करोड ६९ लाख ५१ हजार रुपैयाँ मात्र भएको भारतसँगको व्यापार घाटा ३ खर्ब २८ अर्ब १४ करोड ५० लाख ३८ हजार रुपैयाँ भएको हो ।

दोस्रो बढी व्यापार घाटा हुने मुलुक चीन हो । चीनबाट ६७ अर्ब ८८ करोड ४० लाख ६१ हजार रुपैयाँको आयात भएको छ भने निर्यात भने १ अर्ब ५७ करोड ५६ लाख ९३ हजार रुपैयाँ मात्रै भएको छ । उक्त कारणले चीनतर्फको व्यापार घाटा भने ६६ अर्ब ३० करोड ८३ लाख ६८ हजार रुपैयाँ भएको विभागको तथ्यांकमा उल्लेख । चीनपछि व्यापार घाटा बढी हुने मुलुकहरूमा अर्जेन्टिना,इन्डोनेसिया, थाइल्यान्ड, भियतनामलगायत मुलुकहरू छन् ।

व्यापार घाटा हुने मुलुकहरूमा प्राय: भारत र चीन पहिलो देस्रो देखिए पनि तेस्रो र चौथो मुलुकहरू भने फरकफरक हुने गरेका छन् ।

आयात तथा निर्यातबाट सरकारले हालसम्म १ खर्ब २९ अर्ब ७६ करोड ९५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सर महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क शीर्षकबाट सरकारले उक्त राजस्व उठाएको हो । यही रकमभित्र निर्यात राजस्व रहे पनि उक्त रकम भने निकै न्यून छ ।

६ महिनामा १ सय ३९ मुलुकहरूसँग व्यापारिक कारोबार भएको हो । यसमध्ये २४ मुलुकमा नेपालले आयातभन्दा बढी निर्यात गर्न सफल भएको छ । यी मुलुकहरूसँग भएको व्यापारको अंक भने निकै सानो छ । २९ वटा मुलुकसँग १ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ ।

विगतका महिना तथा वर्षहरूको तथ्यांकसँग तुलना गर्दा निर्यात बढी हुने मुलुकहरूको संख्या क्रमश: बढ्दै गएको छ ।

निर्यात वृद्धिदर कम र आयात वृद्धिदर भने ठूलै अनुपातमा बढ्दै गएको देखिन्छ । यो तथ्यांकले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले नीतिगत रूपमा गरेका कार्यक्रम बिफल हुँदै गएको देखिन्छ ।

स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको हो ।

सरकारले व्यापार घाटा कमगर्न समयसमयमा थुप्रै नीतिगत प्रयासहरू गरे पनि उपलब्धि भने हासिल हुन सकेको छैन । सरकारले सुधारका प्रयासहरू सार्वजनिक गर्ने गरेको छ ।

वार्षिक विकास कार्यक्रम बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँनयाँ नारा सार्वजनिक गर्छन् । ती कार्यक्रमको प्रभावकारिता र अनुगमन भने सधैं फितलो हुने गरेको छ ।

व्यापार घाटा कम गर्न भन्दै सरकारलेएक दशकअघिबाट व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापना गरेको छ । मुलुककोनिर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवद्र्धनात्मक कार्यक्रमसमेत भइरहेका छन् ।

बेलाबेलामा सार्वजनिक तथ्यांकले तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक रहेको देखाउँछ ।

प्रकाशित समय ०४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु