गृहपृष्ठ सरकारी असहयोगले सिमेन्टको ५५ अर्ब लगानी फिर्ता हुँदै
सरकारी असहयोगले सिमेन्टको ५५ अर्ब लगानी फिर्ता हुँदै
काठमाडौं–खानी विभागले अफ्रिकामा वार्षिक पाँच करोड टन सिमेन्ट उत्पादन गरिरहेको नाइजेरियाको कम्पनी डाङ्गोटेलाई खानी दिन अस्विकार गरेको छ।
नेपालमा ५५ अर्ब रुपैयाँ लगानी ल्याउने प्रतिवद्धता गरेको चार वर्ष पूरा हुँदा पनि उपयुक्त खानी नपाएपछि लगानी फिर्ता लैजाने बारे छलफल सुरु भएको छ। तीन वटा चुनढुङ्गा खानीमा प्रस्ताव हालेपनि अस्विकृत भएपछि नेपालमा लगानी फिर्ता लैजाने बारे छलफल भएको डाङ्गोटे सिमेन्टका नेपाल प्रतिनिधि रुप रावलले बताए।
सबै अफ्रिकी मुलुकमा सिमेन्ट उद्योग स्थापना गरिसकेको डाङ्गोटे सन् २०१३ को नोभेम्बरमा नेपाल आएको हो।दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरि नेपाल छिरेको डाङ्गोटेले कम्पनी दर्तादेखिनै समस्या झेल्नु पर्यो। ‘कम्पनी दर्ता गर्न ५० लाख रुपैयाँ भन्दा बढी राजस्व चाहिने थियो।’ तत्कालिन कम्पनी रजिष्टार कार्यालय तथा हाल उद्योग विभाग बौद्धिक सम्पती शाखाका निर्देशक दिपक घिमिरेले भने, ‘कम्पनी दर्ता नभई लगानी ल्याउन नपाउने र कम्पनी दर्ता गर्न ५० लाख भन्दा बढी राजस्व तिर्नुपर्ने भएपछि दुई दिनमा हुने काम महिनौ सम्म भएन।’सरकारी खातामा पचास लाख रुपैयाँ आएपछि मात्रै कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता भयो।
कम्पनी दर्ता गरेपछि उद्योग दर्तामा पनि डाङ्गोटेले समस्या झेल्नुपर्यो। घिमिरेले भने, वातावरणीय प्रभाव मूल्याङ्कन र वनसँग सम्बन्धित अन्य विषयलाई लिएर लामै समय उद्योग दर्ता भएन।
कमसल चुनढुंगा खानी भिडाइयो
उद्योग दर्ता भएपछि लगानीको प्रतिवद्धता आयो।अब सिमेन्ट उद्योगका लागि खानी आवश्यक भयो। हेटौडामा रहेको विराट सिमेन्टले खानी बेच्न पहल गर्यो।
खानी विभागको परीक्षणमा क्याल्सियम अक्साईड ४० प्रतिशत हाराहारी देखिएको थियो।त्यही खानी डाङ्गोटेले १२०० मिटर ड्रिलिङ गरिसक्दापनि भनेजस्तो गुणस्तरको चुनढुङ्गा पाईएन। नाईजेरिया लगेर परिक्षण गर्न समेत रोकियो। दुर्इ वर्ष कुरेपछि बल्लबल्ल नाइजेरिया लगेर चुनढुंगा परीक्षण गरियो ।परीक्षणमा चुनढुंगा मार्वल बनाउन समेत नमिल्ने देखिएपछि खानी किन्ने सम्झौंता रद्द गरेको रावलले बताए।
नेपालमा भएका खानी धेरै जसो सिमेन्ट उद्योगले ओगटेर बसेका छन्।विभागका कर्मचारीको मिलेमतोमा लाख रुपैयाँमा खानी लिने र करोडौं रुपैयाँमा बिक्री गर्ने धन्दानै चलेको छ।
तीन वटा खानीको निवेदन अस्विकार
गतवर्ष खानी विभागले प्रतिस्पर्धामा चुनढुंगा खानी दिन टेण्डर आब्हान गर्यो।धेरैजसो खानीमा डाङ्गोटेनै प्रतिस्पर्धामा अगाडि थियो।
कम्पनीले हालेको तीनवटै टेण्डरको प्राविधिक पक्ष कमजोर भन्दै विभागले अस्वीकृत गरिदियो। तीन मकवानपुर र धादिङमा पर्ने पानीखर्क चुनढुङ्गा खानी, कैलाश चुनढुङ्गा खानी र पाल्लामा रहेको शिलकेश चुनढुङ्गा खानीमा डाङ्गोटेले प्रस्ताव हालेको थियो। तीनवटै खानीबाट डाङगोटेलार्इ पहिलो चरणबाट आउट गरियो र बोलकबोलमै सहभागी हुन पाएन।
तीन वटा खानीमध्ये पानी खर्कलाई चिनियाँ कम्पनी ह्वासिनले ६० करोड रुपैयाँमा, कैलाश युनाईटेड सिमेन्ट र पाल्पाको शिलकेशलाई स्वर्गद्वारी मल्टिपर्पोजले किन्यो।
अफ्रिकामा राज, नेपालमा वनवास
डाङ्गोटे भन्ने बित्तिकै विश्वमै परिचित सिमेन्ट ब्राण्ड हो। गत वर्षको उसको आम्दानी मात्रै ६ खर्ब भन्दा बढी छ। वार्षिक करिब पाँच करोड मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने डाङ्गोटेले अफ्रिकामा १६ हजार भन्दा बढीलाई रोजगारी दिएको छ।
नेपालमा ५५ अर्ब रुपैयाँ लगानी गरेर दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादनको लक्ष्य राखेको डाङ्गोटेले प्रत्यक्षमा एक हजार र अप्रत्यक्ष रुपमा १० हजार नेपालीलाई रोजगारी दिने प्रतिवद्धता गरेको थियो।सिमेन्ट बाहेक फुड र बेभरेज प्रोडक्टमा पनि नाम कमाएको डाङ्गोटेले नेपालमा कमाएको पैसा विदेश लैजाने सोचनै बनाएको थिएन। सिमेन्टको नाफा फुड र वेभरेज लगायत अन्य उद्योगमा लगानी गर्ने योजना बनाएको थियो।
दुई वर्षपछि आएको होङ्सीले भने उत्पादन थाल्दै
सन् २०१५ को डिसेम्बरमा मात्र नेपाल आएको चिनियाँ लगानीको होङ्सी शिवम सिमेन्टले २०१८ को सुरुवातमै सिमेन्ट उत्पादन गर्दैछ।
नेपाली साझेदार राखेर काम गरेकोले होङ्सीलाई कुनै पनि काममा बाधा अड्चन भएन। लगानी स्विकृत गरेको दुई वर्षभित्र उसले प्लान्ट निर्माणको काम ९५ प्रतिशत सकाएको छ। होङ्सीले ३६ अर्ब रुपैयाँ मात्र विदेशी लगानी ल्याएको थियो।तर होङ्सी भन्दा दुई वर्ष अघिनै ५५ अर्ब रुपैयाँ लगानी ल्याएको डाङ्गोटेले भने अहिले सम्म खानी पाएको छैन।
‘नेपाली साझेदार नहुँदा डाङ्गोटेको पक्षमा भन्दा विपक्षमा लाग्ने धेरै भए’ रावलले भने, ‘उसले एकल लगानी गर्न सक्ने कानुनी प्रावधान भएकैले लगानी ल्याएको हो। साझेदार राख्नै पर्ने भन्ने त कानुनमा छैन। तैपनि विश्वमा नाम कमाएको बहुप्रतिष्ठित ब्राण्डले खानी किन्न हालेको प्रस्तावमा प्राविधिक पक्ष पुगेन भन्दा विश्वास लागेको छैन।’
सिमेन्ट उद्योगमा अहिले सम्मकै ठूलो वैदेशिक लगानी
चिनियाँ कम्पनी होङ्सीको वैदेशिक लगानी ३६ अर्ब रुपैयाँ मात्रै हो।
पानी खर्क चुनढुङ्गा खानी पाएको ह्वासिनको वैदेशिक लगानी १४ अर्ब रुपैयाँ मात्र छ। ५५ अर्ब रुपैयाँ वैदेशिक लगानी स्विकृत गरेको डाङ्गोटे सिमेन्ट उद्योगमा सबैभन्दा धेरै लगानी भित्र्याउने कम्पनी भएको लगानी बोर्डको तथ्याङ्कले देखाउँछ।
भूकम्पमा १० करोड रुपैयाँ सहयोग
नेपालमा भूकम्प गएको बेला नेपालमा उद्योग स्थापना नगर्दै डाङ्गोटेले १० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो।
नेपाल मात्र नभएर एसिया अफ्रिका लगायत सबै जसो महादेशमा ठूलो धनराशी सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको छ।विश्वका उत्कृष्ट कम्पनीहरुको सूचीमा सूचीकृत डाङ्गोटेले अफ्रिकी महादेशमा उत्कृष्ट कम्पनी र ब्राण्डको सबै खाले उपाधी जितिसकेको छ।
–बिजमाण्डुबाट साभार
प्रकाशित समय ०६:३० बजे