गृहपृष्ठ दैनिक डेढ करोड भारु खपत
दैनिक डेढ करोड भारु खपत
काठमाडौँ — औपचारिक रूपमा नेपाली बजारमा दैनिक डेढ करोड भारतीय मुद्रा खपत हुँदै आएको छ । यो राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय र मोफसलमा रहेका क्षेत्रीय कार्यालयहरूबाट सटही हुने तथ्यांक हो । थापाथलीस्थित कार्यालयबाट मात्र दैनिक औसत १ करोड भारतीय मुद्रा बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले सटही गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं उपत्यकाबाहिर रहेका राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरूबाट दैनिक करिब ५० देखि ६० लाख भारु सटही हुँदै आएको छ । उक्त तथ्यांकमा सर्वसाधारणले विभिन्न कामका लागि प्रयोगमा ल्याउने भारुको विवरण समावेश छैन । बजार मागका आधारमा राष्ट्र बैंकले अमेरिकी डलर खर्चेर भारु खरिद गर्दै आएको छ ।
अघिल्ला वर्षहरूमा जस्तै चालु आवमा पनि राष्ट्र बैंकले ६ अर्ब भारतीय मुद्रा आयातको अनुमति पाएको छ । जसमध्ये १ अर्ब भारु ल्याइसकिएको छ ।
थप १ अर्ब आयातका लागि राष्ट्र बैंकको एक टोली यही साता भारत जाँदै छ ।
राष्ट्र बैंकले गत वर्ष पनि ६ अर्ब भारतीय रुपैयाँ आयातको अनुमति पाएकामा ४ अर्ब ८० करोड मात्र ल्याइएको थियो । गत वर्षजस्तै यो वर्ष पनि अनुमति प्राप्त सबै भारु आयात नगरिने राष्ट्र बैंकले जनाएको छ । ‘यो वर्षका लागि तोकिएको अधिकतम सीमाको ५० प्रतिशत वा ३ अर्बभन्दा बढी आयात नगर्ने योजना छ,’ स्रोतले भन्यो ।
हाल राष्ट्र बैंकसँग करिब ७ अर्ब भारतीय मुद्रा मौज्दात (स्टक) छ । दैनिक डेढ करोड मागलाई आधार मान्दा पनि उक्त मौज्दातले एक वर्षभन्दा धेरै पुग्ने राष्ट्र बैंकको दाबी छ ।
हरेक वर्ष के कति भारु आयात गर्ने भन्ने निर्णय राष्ट्र बैंकले नै गर्ने हो । वर्षभरिको आवश्यकता अनुमान गरी राष्ट्र बैंकले स्वीकृतिका लागि आरबीआईमा पठाउँछ । आरबीआईले अनुमति दिएपछि त्यो उक्त वर्षका लागि आयातको सीमा बन्छ । यस्तोसीमा एक वर्षका लागिमात्र हो ।
यसकारण राष्ट्र बैंकले तोकिएको सीमा सोही आर्थिक वर्षभित्र आयात गरिसक्नुपर्छ । यसरी डलर खर्चेर आयात गरेको भारु सटहीका लागि राष्ट्र बैंकले ०.१५ पैसा शुल्क लिँदै आएको छ ।
साटिएन प्रतिबन्धित भारु
भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध गरिएको २६ महिना भइसक्दा पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन । नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत पटकपटक प्रयास भए पनि भारतीय पक्षले महत्त्व नदिएपछि ती नोट नसाटिएका हुन् ।
पछिल्ला महिनाहरूमा भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छाडेकाले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरू बताउँछन् । नेपाल सरकारले प्राथमिकताका साथ पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारु पनि साट्न नसकिएको उनीहरूको भनाइ छ ।
भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो । त्यसबेलादेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन् । राष्ट्र बैंकका अनुसार नेपालमा ७ करोड ८५ लाख भारु पाँच सय र हजार दरका नोट छन् । यसबाहेक सर्वसाधारणसँग भएको प्रतिन्धित भारुकोयकिन तथ्यांक राष्ट्र बैंकसँग पनि छैन ।
यो अवधिमा भारत सरकारले आफ्ना नागरिक र भुटानमा रहेको सबै प्रतिबन्धित भारु साटिसकेको छ ।
प्रकाशित समय १५:०५ बजे