गृहपृष्ठ सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

नेपालगन्जस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले प्रदान गर्ने सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ ।

केन्द्रबाट प्रदान हुने विभिन्न समय अवधिका तालिममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए । उनले तालिम केन्द्रले तालिममार्फत बर्सेनि सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालिममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको दाबी गरे ।

केन्द्रले तालिममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायका लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगन्ज आएर तीनमहिने कटाइसिलाइ तालिम लिएकी लक्ष्मी कुँवरले तालिम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको र अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेको बताइन् ।

छमहिने कम्प्युटर तालिम लिएका नेपालगन्जका चक्र ढुंगानाले व्यावसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगन्जबाट छ महिनासम्म सिकेको सीपले रोजगारी पाउन सफल भएको बताए ।

केन्द्रका प्रमुख गौतमका अनुसार आर्थिक वर्ष  २०७५/७६ मा ६१८ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ । २७ जनालाई छमहिने कम्प्युटर तालिम दिइएको छ । यसैगरी तीनमहिने केश शृंगार तालिम ६० जनालाई, कटाइसिलाइ तालिम ४८ जनालाई प्रदान गरिएको छ ।

आव २०७५/७६ मा केन्द्रले विद्युत् जडानको तालिम ५६ जनालाई, इलेक्ट्रोनिक्सको तालिम दुईजनालाई र वेल्डिङको तालिम २० जनालाई प्रदान गरेको छ । यसैगरी तीनमहिने हाउस वाइरिङ तह १ को तालिम ५० जनालाई, हाउस होल्ड प्लम्बिङ तह २ को तालिम २३ जनालाई, कुक तह १ को तालिम २५ जनालाई, मोटरसाइकल मर्मत तालिम २५ जनालाई, होजियारी तालिम ५० जनालाई, फेसन डिजाइनिङ तह १ तालिम ५० जनालाई, मेसन तह १ तालिम २५ जनालाई तालिम दिइएको छ ।

छात्रालाई आत्मरक्षा प्रशिक्षण

महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १५० छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।

समितिका अध्यक्ष आतंक बस्नेतले खेलकुको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण र खेलप्रति आकर्षण गर्न प्रशिक्षण दिइएको प्रस्ट पारे । नेपालगन्जस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कृति थारूले आत्मरक्षासम्बन्धी तालिमबाट धेरै नयाँ तथा व्यावहारिक ज्ञान पाएको बताइन् । उनले हिँडडुलका क्रममा वा घरमा बसेको बेला कसैले आक्रमण गरे त्यसबाट जोगिने उपाय सिकेको उल्लेख गरिन् ।

प्रशिक्षणले महिलामाथि हुने हिंसा न्यूनीकरणमा ठूलो सहयोग पुग्ने नेपाल सेल्फ डिफेन्ड संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जनको भनाइ छ । उनका अनुसार प्रशिक्षणमा आक्रमणका क्रममा आफ्नो शरीरमा भएका अंग परिचालन गर्ने, नङ, दाँत, खुट्टा, हात चलाउने विधिबारे ज्ञान तथा सीप प्रदान गरिएको छ । (रासस)

प्रकाशित समय १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु