गृहपृष्ठ प्रदेश ५ लाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाउँछौं : मन्त्री बराल

प्रदेश ५ लाई आयुर्वेदिक औषधिमा आत्मनिर्भर बनाउँछौं : मन्त्री बराल

ayurvedic-medicine-newskarobar

सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई आर्युवेदिक औषधिमा आत्मनिर्भर बनाइने बताएका छन् । बुटवलमा बिहीबार भएको प्रदेशस्तरीय आयुर्वेदिक औषधि उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन विषयक अन्तर्क्रियामा मन्त्री बरालले स्वदेशी जडिबुटीलाई प्रयोग गरेर पहिलो चरणमा प्रदेशलाई आत्मनिर्भर बनाउने योजना रहेको बताए ।

प्रदेश ५ जडिबुटीमा धनी रहेकाले त्यसको सही सदुपयोग हुने उनको भनाइ छ । ‘जडिबुटी प्रयोगले प्रदेश पनि धनी हुन्छ, किसानको पनि आयआर्जन बढ्छ,’ उनले भने, ‘यहाँ रहेका औषधालयहरुको स्तर वृद्धि गर्दै औषधि उत्पादनमा जोड दिने सरकारको नीति छ ।’

आयुर्वेदिक औषधि यति धेरै भए पनि एलोपेथिक औषधि जस्तै गरी किन्नुपर्ने अवस्था आउनु गलत भएको मन्त्री बरालले बताए । ‘नेपाल र भारतमा वेदलाई विज्ञान माने पनि काम भने नहँुदा आयुर्वेदिक औषधिसमेत युरोपबाटै खरिद गर्नुपर्ने खतरा छ,’ उनले भने ।

सामाजिक विकास मन्त्रालयका सचिव पुष्करराज पन्तले स्वेदशी कच्चा पदार्थबाट भारतमा उत्पादन भएको करोडौं मूल्यको औषधि नेपाल आयात हुने स्थितिको सरकारले अन्त्य गर्ने दाबी गरे । ‘स्वेदशी कच्चा पदार्थ प्रयोगले आयातीत औषधि विस्थापन गर्न सक्छ,’ उनले भने ।

मन्त्रालयको स्वास्थ्य महाशाखाले प्रदेशमा औषधि उत्पादनको सम्भाव्यता अध्ययन थालिसकेको महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए । प्रदेश ५ मा एक क्षेत्रीय, तीन अञ्चल र अधिकांश जिल्ला औषधालय रहेकाले समेत औषधि उत्पादनमा सहज हुने उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डा. रमेश केसीले औषधि उत्पादनको सम्भावना र फर्मासिस्ट मनिष केसीले औषधि उत्पादनको प्राविधिक पक्षबारे जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एकराज बिकले आयुर्वेदिक औषधि स्वास्थ्यका लागि उत्कृष्ट रहेकाले सरकारले यसको विकासमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा आयुर्वेद चिकित्सक तथा सरोकारवालाहरुको सहभागिता थियो ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु