गृहपृष्ठ विराटनगरमा प्रसिद्ध रथयात्राको भव्य तयारी

विराटनगरमा प्रसिद्ध रथयात्राको भव्य तयारी

विराटनगरको प्रसिद्ध रथयात्राको तयारीलाई तीव्र पारिएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको तयारीस्वरुप विराटनगरमा अन्तरक्रिया कार्यक्रम पनि संचालन गरेको छ । समितिले रथयात्रालाई सफल बनाउन बाबुराजा ओझाको अध्यक्षतामा विभिन्न १९ वटा उपसमिति बनाइएको छ ।

विराटनगरमा बर्षेनी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा रथयात्रा हुने गर्छ । लाखौं भक्तजन सहभागी हुने रथयात्राले विराटनगर बजार परिक्रमा गर्ने गर्छ । यस पटकको रथयात्रा भदौ १८ गते सोमवारका दिन हुने छ ।

राधाकृष्ण मन्दिरको स्थापना भएको वि.सं १९८८ देखि विराटनगरमा विधिवतरूपमा रथयात्रा सुरुआत भएको जानकार दधिराज सुवेदी बताउँछन् । यो धार्मिक अनुुष्ठानलाई २०२५ सालदेखि विशेष र भव्य बनाउन थालिएको हो ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले रथयात्रालाई भव्य बनाउन विराटनगर महानगर आवश्यक सहयोग गर्न तयार रहेको बताए । समितिले आयोजना गरेको छलफल कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक इश्वर बाबु कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोज कुमार केसी, प्रहरी उपरीक्षक आभुषण तिम्सिना, पूर्वप्रशासक रामप्रसाद खतिवडा, समाजसेवी शिवदत्त भट्टराई, पं भवानी शंकर निरौला, जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवकुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।

रथयात्रालाई सफल बनाउन विभिन्न क्षेत्रवाट सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । रथ यात्राका दिन रथको डोरी तान्न वा छुन मात्र पाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
रथ यात्रा तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निस्किएर गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चौक, विजुली अफिस, मुनालपथ र बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुने गरेको छ ।

गत वर्ष साउन अन्तिम साता आएको बाढीका कारण सडक विग्रिएको हुनाले मन्दिरबाट निस्किएर गोल्छा चोक, जलजला मोड, ट्राफिक चोक, महेन्द्र चौकसम्म मात्र आईपुगर सोही रुटबाट फर्किएको थियो ।

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु