गृहपृष्ठ कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय भवनविहीन

कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालय भवनविहीन

nepal police_newskarobar

कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफ्नै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार जाजरकोटमा १३, रुकुम पश्चिम १२, दैलेख १०, कालीकोट नौ, हुम्ला नौ, सुर्खेत आठ, सल्यान आठ, डोल्पा छ, मुगु छ र जुम्ला चार प्रहरी कार्यालय आफ्नो भवन नहुँदा भाडामा बसेका छन् ।

७४ लाख भाडामा खर्च

कर्णाली प्रदेशमा नेपाल प्रहरीका विभिन्न कार्यालयको कार्यालय व्यवस्थापनका लागि वार्षिक झन्डै ७४ लाख रूपैयाँभन्दा बढी रकम भाडामा खर्च हुने गरेको छ । कार्यालय सञ्चालनका लागि आफ्नो भवन नहुँदा कर्णाली प्रदेशका विभिन्न प्रहरी कार्यालयले वार्षिक ७३ लाख ८० हजार ८ सय ५२ रूपैयाँभन्दा बढी रकम भाडामा मात्र खर्च गर्ने गरेको प्रहरी नायब महानिरीक्षक जोशीले जानकारी दिए ।

आफ्नो नाममा भवन नहुँदा कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा १९ लाख ९३ हजार १ सय ५२, रुकुम १० लाख ६२ हजार ६ सय ७२, जाजरकोटमा ७ लाख ३७ हजार २ सय ८, सल्यानमा ७ लाख २० हजार, कालीकोटमा ६ लाख ६२ हजार ८८ रूपैयाँ घरभाडामा भुक्तानी गर्ने गरेको जोशीले जानकारी दिए ।

त्यस्तै दैलेखमा ५ लाख ७९ हजार ७ सय २०, हुम्लामा ५ लाख ६३ हजार ४०, मुगुमा ४ लाख १० हजार ४ सय, डोल्पामा ३ लाख ९८ हजार ५ सय ३२ र जुम्लामा २ लाख ५४ हजार ४० रूपैयाँ भाडाबापत वार्षिक रूपमा भुक्तानी गर्ने गरिएको उनले बताए ।

आफ्नो वार्षिक भाडाको रकमले नपुग्दा स्थानीय तह तथा अन्यले केही प्रहरी चौकीको भाडा तिरिदिने गरेको उनको भनाइ छ । जनतासँग प्रत्यक्ष रूपमा जोडिएको नेपाल प्रहरी नै भवन अभावमा बस्नुपर्दा कार्यसम्पादनमा असर पर्ने उनले बताए । सामान्यतया खाने, बस्ने, शौचालयलगायतका आधारभूत कुरा परिपूर्ति नहुँदा प्रहरीलाई दैनिक कार्यसम्पादनमा असर पर्ने गरेको उनको भनाइ छ । ‘प्रदेशको आफ्नो जग्गा छैन, जग्गा प्राप्तिका लागि पहल गरिएको छ, जग्गा प्राप्ति भएमा भवन निमार्णको पहल गरिनेछ,’ उनले भने । आफ्नो नाममा जग्गा भए पनि कर्णालीका अधिकांश प्रहरी चौकीहरुले बजेट अभावमा भवन बनाउन सकेका छैनन् ।

आधा दर्जन कार्यालय प्रदेश बाहिर

आफ्नो प्रदेशमा भवन नहुँदा कर्णाली प्रदेशका आधा दर्जन कार्यालय प्रदेश बाहिर सञ्चालन भएका छन् । प्रहरीका महत्वपूर्ण कार्यालय भवन अभावमा प्रदेश नं ५ को नेपालगन्जबाट सञ्चालित छ । कर्णाली प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी दंगा नियन्त्रण गण, संघीय प्रहरी एकाइ कार्यालय, प्रदेश प्रहरी कुकुर शाखा, प्रदेश प्रहरी सवारी शाखा र प्रदेश प्रहरी भण्डार शाखा नेपालगन्जबाट सञ्चालन भएको प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक जोशीले जानकारी दिए । (रासस)

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु