गृहपृष्ठ मुलुकी देवानी (संहिता)ऐन : कतै खुकुलो कतै कडाइ
मुलुकी देवानी (संहिता)ऐन : कतै खुकुलो कतै कडाइ
अब पुरुषले चाहेमा पनि तुरुन्तै सम्बन्ध विच्छेद हुने भएको छ । भदौ १ गतेबाट लागु हुने नयाँ मुलुकी संहिता अनुसार पतिले चाहेमा पनि तत्कालै सहज रुपमा सम्बधन विच्छेद हुने भएको हो । यसअघिको कानुनमा पत्नीले मात्र सहज रुपमा सम्बन्ध विच्छेद हुने व्यवस्था थियो ।
पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ बर्ष वा सो भन्दा बढी समयदेखि लगातार अलग बसेमा लगायतका विविध कारण देखिएमा पतिले सम्बन्ध विच्छेद गर्न पाउनेछ । संहिताको दफा ९४ बमोजिम पति–पत्नी मानो छुट्टिई भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकालिदिएमा, पत्नीले पतिको अंगभंग हुने किसिमको कुनै अर्कै काम वा जाल प्रपञ्च गरेमा पतिले सम्बन्ध विच्छेद गर्न सक्नेछ ।
यस्तै पत्नीले अरु पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था नयाँ मुलुकी संहितामा उल्लेख छ । यी कारणहरु ठहर भएमा पत्नीले पनि पतिसँग समबन्ध विच्छेद गर्न पाउनेछिन् । पतिले अर्काे विवाह गरेमा र पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमासमेत पत्नीले पतिसँग सम्बन्ध बिच्छेद गर्न सक्ने व्यवस्था नयाँ मुलुकी ऐनमा छ । तर दफा ९७ ले भने सम्बन्ध विच्छेदका लागि निवेदन परेमा भरसक अदालतले दुबै पक्षलाई सम्झाई बुझाई मेलमिलाप गराउनुपर्ने व्यवस्था गरेको छ ।
सम्बन्ध विच्छेद हुने भएपछि दफा ९९ ले अंशबण्डाको व्यवस्था गरेको छ । सगोलको सम्पत्ति पति पत्नी दुवैको नाममा वा पति पत्नीमध्ये कुनै एकको नाममा रहेछ भने पनि सम्बन्ध विच्छेद हुनु अघि अंशवण्डा गर्नुपर्ने व्यवस्था छ ।
विवाहअघि बच्चा जन्मिए विवाह सदर
शारीरिक सम्पर्कबाट बच्चा जन्मिएमा विहे भएको मान्यता दिने व्यवस्था नयाँ बनेको मुलुकी ऐनले गरेको छ । ऐनको भाग ३ मा रहेको पारिवारिक कानुन अन्तर्गत परिच्छेद–१ मा विवाह सम्बन्धी व्यवस्थामा यस्तो उल्लेख छ । दफा ७४ भनिएको छ, ‘कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छ ।’ तर, जबरजस्ती करणीको कारणले महिलाले गर्भधारण गरी शिशु जन्मिएमा भने विवाह मानिने छैन । विवाह गर्न हुने नाता सम्बन्धबाहेक हाडनाता करणीमा सजाय हुने नाताका पुरुषसँग पनि विवाह मान्य नहुने नयाँ बनेको ऐनमा उल्लेख छ ।
जारी तिर्ने व्यवस्था खारेज
नयाँ मुलुकी संहितामा जंगबहादुर राणाको पालामा वि.सं. १९१० सालमा निर्माण भएको र तत्कालीन राजा महेन्द्रले २०२० सालमा संशोधन गरेको केही कानुनहरु हटाईएको छ । ५५ वर्षपछि पुनः परिमार्जन गरिएको यो कानुनमा जारी तिर्ने व्यवस्था खारेज गरिएको छ । यसअघिकाको कानुनमा बिवाह भएको थाहा हुँदा हुँदै अर्काको श्रमती विहे गरेमा पतिले पत्नीको पूर्वपतिलाई क्षतीपुर्ति तिर्नु पर्ने व्यवस्था थियो । विवाह भईसकेपछि अर्काेसँग विवाह गर्ने महिलालाई एक देखि दुई महिनासम्म कैद थियो भने पतिलाई रकम जरिवाना को व्यवस्था थियो । समय अनुकुल परिमार्जन गर्ने क्रममा अहिले सो व्यवस्था हटाईएको छ ।
विवाह सार्वजनिक गर्नैपर्ने
प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विवाह गर्ने, परिवार कायम गर्ने स्वतन्त्रता दिइएको नयाँ कानुनमा विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्ने उल्लेख छ ।
नयाँ मुलुकी संहितामा विवाह गर्न र गराउन नहुने व्यवस्था पनि छ । कसैले झुक्याएर विवाह गरेको ठहरेमा विवाह गर्ने वा गराँउनेबाट मनासिब क्षतीपूर्ति दावी गर्ने व्यवस्था गरिएको छ । यस्तै दफा ७३ मा विवाह बदर गराउँन सक्ने व्यवस्था गरिएको छ । उमेर पूरा नभएको खण्डमा वा झुक्याई विवाह गरेमा विवाह बदर हुने व्यवस्था गरिएको छ ।
पारिवारिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षका सुरक्षासँग जोडिएका मुलुकी देवानी संहिता, २०७४, मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी कार्यविधि ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ऐन २०७४, कानुनहरु आउँदो शुक्रबार (भदौ १) गतेदेखि कार्यान्वयनमा आउँदैछ । जंगबहादुर राणाको पालामा १९१० सालमा निर्माण भएको र तत्कालीन राजा महेन्द्रले २०२० सालमा संशोधन गरेको कानुन ५५ वर्षपछि पुनः परिमार्जन गरिएको हो ।
प्रकाशित समय १९:४१ बजे