गृहपृष्ठ पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर रावलसहित तीनजनाविरुद्ध मुद्दा
पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर रावलसहित तीनजनाविरुद्ध मुद्दा

पूर्वगभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गभर्नर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लाबर नामक अस्ट्रेलियन कम्पनीका नेपाल प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध जनही ९१ लाख ९ हजार बिगो जरिवाना र सजाय दाबी गर्दै विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट दश रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएकोलगायतका आरोप अख्तियारले लगाएको छ ।
बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने जस्ता कार्य भएको अख्तियारको दाबी छ ।
अनुसन्धानका क्रममा राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको खुलासा पनि अख्तियार गरेको छ ।
प्रकाशित समय १८:३५ बजे