गृहपृष्ठ नेपाल र जापानबीच आज हवाइ सम्झौता हुँदै
नेपाल र जापानबीच आज हवाइ सम्झौता हुँदै

नेपाल र जापानबीच आज हवाइ सेवा सम्झौता हुने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार साँझ द्विपक्षीय वार्तापछि हवाइ सम्झौता हुने बताइएको छ । मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौं आउँदै छन् ।
नेपाल–जापान सिधा उडान प्रारम्भपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अधिकाधिक रुपमा जापानी पर्यटक नेपाल भित्र्याउन सहज हुनेछ । मन्त्रीस्तरीय वार्तापछि नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्रको निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ ।
विदेशमन्त्री कोनोको भ्रमणबाट नेपालमा जापानी लगानी तथा पर्यटन प्रवर्द्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने परराष्ट्र मन्त्रालयको विश्वास छ ।
प्रकाशित समय ११:०० बजे