गृहपृष्ठ पोखरामा भारतबाट मात्रै भित्रियो ५० टन तरुल र सखरखण्ड

पोखरामा भारतबाट मात्रै भित्रियो ५० टन तरुल र सखरखण्ड

खपत बर्सेनि घट्दै, यो वर्ष पोहोरभन्दा २५ प्रतिशत माग कम

maghe-sankranti-pokhara-newskarobar (1)

नेपालका अधिकांश खेतबारी बाँझो भइरहँदा भारतबाट करिब ५० लाख मूल्यबराबरको तरुल र सखरखण्ड पोखरा भित्रिएको छ । व्यवसायीका अनुसार माघे संक्रान्तिका अवसरमा पोखरा क्षेत्रमा ५० टन तरुल र सखरखण्ड भित्रिएको हो ।

पोखरामा केही वर्षदेखि माघे संक्रान्तिमा तरुललगायतका कन्दमूलको खपत घट्दो क्रममा रहेको कृषि उपज बजार व्यवस्थापन समिति शान्तिवन वाटिका, पोखराका निमित्त व्यवस्थापन प्रमुख रुपा दाहालले बताइन् । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष करिब २५ प्रतिशतले तरुलसहितका कन्दमूलको कम माग घटेको छ । माघे संक्रान्तिका अवसरमा पोखरामा २ करोडको तरुलसहितका कन्दमूलको कारोबार भएको उनले बताइन् ।

पोखरामा करिब २०० टन भित्रियो
भारत र नेपालकै विभिन्न जिल्लाबाट पोखरामा करिब २०० टन तरुल भित्रिएको छ । कृषि बजार निमित्त प्रमुख दाहालका अनुसार पोखरामा तरुल डेढ सय टन र सखरखण्ड ५० टन भित्रिएको हो । पोखरामा क्षेत्रमा ४० रुपैयाँदेखि २०० रुपैयाँसम्म प्रतिकिलोका दरले तरुलसहितका कन्दमूल बिक्री भएको उनले जानकारी दिइन् । ‘यो भनेको करिब २ करोड रुपैयाँबराबरको हुन्छ,’ उनले भनिन् ।

पोखरामा तरुल प्रतिकिलो ४० देखि १०० रुपैयाँसम्म, वन तरुल प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्म र सखरखण्ड प्रतिकिलो ५० देखि ९० रुपैयाँसम्ममा बिक्री भएको छ ।

maghe-sankranti-pokhara-newskarobar

गत वर्षभन्दा २५ प्रतिशत कम
कृषि उपज बजार व्यवस्थापन समितिका अनुसार पोखरामा गत वर्षभन्दा २५ प्रतिशत कम तरुल आयात भएको छ । मानिसको व्यवहार कला र संस्कृतिको जगेर्ना खानपिनमा भन्दा मनोरञ्जनमा बढी केन्द्रित भएकाले पनि तरुलसहितका कन्दमूल पछिल्ला वर्षमा कम बिक्री हुँदै आएको हो,’ निमित्त प्रमुख दाहालले भनिन् ।

पोखरामा पाल्पा, स्याङ्जा, मकवानपुर, गोरखा, सर्लाही, नवलपरासीलगायतका जिल्लाबाट कन्दमूल भित्रिएको व्यवसायी बताउँछन् । पाल्पा र मकवानपुरबाट प्रायः वन तरुल भित्रिएको छ भने गोरखाबाट बढीमा मात्रामा सखरखण्ड भित्रिएको छ । अन्य जिल्लाबाट सिम्ले, पन्जे, जाते, सेतो, घरतरुललगायतका तरुल भित्रिएको व्यवसायी विनोद गुप्ताले जानकारी दिए ।

maghe-sankranti-pokhara-newskarobar

व्यापारी भन्छन्– खपत घट्यो
व्यवसायीका अनुसार तरुलको व्यापार आधाभन्दा बढी घटेको छ । गत वर्ष ४ लाखको कन्दमूलको व्यापार गरेका व्यवसायी गुप्ताले यो वर्ष २ लाखको मात्र बेच्न सकेका छन् । कास्कीको बहुमारा, हेमजालगायतका क्षेत्रबाट स्थानीय जातको तरुल केही मात्रामा बजार भित्रिए पनि खपत नै कम भएको उनको बुझाइ छ ।

स्याङ्जा ठूलादिहीका सागर थापा यो वर्ष आफ्नै बारी र छिमेकीकहाँबाट संकलन गरेर ५ सय किलो तरुल बिक्रीका लागि पोखरा आए । तर, यो वर्ष उनले गत वर्षको जस्तो मूल्य पाएनन् । ‘गत वर्षभन्दा कम मूल्यमा बेच्नुपर्यो, नाफा पनि कम भयो,’ उनले न्युज कारोबारसँग भने, ‘गत वर्ष ५० देखि ६० रुपैयाँ प्रतिकिलोका दरले बेचेकोमा यो वर्ष ३५ देखि ४० रुपैयाँका दरले बेच्नुपरेको छ ।’

अर्का व्यापारी सोनु गुप्ताले पनि ८ टन तरुल बिक्रीका लागि पोखरामा अर्डर गरे पनि पुस ३० गतेसम्म २० प्रतिशतमात्र बिकेको गुनासो गरे । केही व्यवसायीले कृषि उपज बजारमा तरुलसहितका कन्दमूल बिक्री नभएपछि परेको मूल्यभन्दा पनि घटेर बेच्नुपरेको बताएका छन् ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु