गृहपृष्ठ प्रहरीमा बम्जनविरुद्ध पाँचौ उजुरी
प्रहरीमा बम्जनविरुद्ध पाँचौ उजुरी

अनुयायीको हत्या र बेपत्ता पारेको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनविरुद्ध प्रहरीमा फेरि अर्को उजुरी परेको छ । सर्लाहीको बाग्मती-१२ की २९ वर्षीया रिता बोट (माझी) बेपत्ता भएको भन्दै उनको परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । यो बम्जनविरुद्ध पाँचौं उजुरी हो ।
रिता बोटे (माझी)का परिवारले उनी आश्रमबाट बेपत्ता भएको भन्दै आमा सुम्नीले जाहेरी दिएको सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए । सुरुमा रिता बाराको हलखोरियास्थित बम्जन आश्रममा बसेकी थिइन् ।
२०६६ सालमा बम्जनले गढीमाई मेलामा पशुबली रोक्ने घोषणा गरेका थिए । र उनी गढीमाई गएका थिए । त्यतिबेला लामो समयसम्म सम्पर्कविहीन बम्जनसँगै रिता पनि रहेको उजुरीमा उल्लेख छ । रिता त्यसैबेलादेखि बेपत्ता भएको परिवारको दावी छ ।
बम्जन आश्रमबाट एक पटक घर फर्किएर आउँदा आफूले धेरै यातना पाएको छोरीले बताएकी आमा सुम्नीले बताइन् । त्यसबेलामा रिताको शरीरमा कुनै हतियारले चिरेर र कुटेर बनेका घाउ बनाइएको आफूले देखेको प्रहरीमा रिताको आमा सुम्नीले बताएकी छिन् ।
यसअघिनै पीडित परिवारले बम्जनविरुद्ध उजुरी गर्न लाग्दा बम्जन पक्षले उजुरी नगर्न भनेका थिए । उजुरी गरे दुबैलाई अप्ठ्यारो पर्ने धम्की दिएका थिए । त्यसयता पीडित परिवार चुपचाप बस्दै आएको थियो ।
पछिल्लो समय बम्जनको आश्रमबाट बेपत्ता भएका अरू आनी र चेलाका परिवारले पुसमा जाहेरी दिएको खबर सुनेपछि रिताका परिवारले आफ्नी छोरी खोजीदिन भन्दै उजुरी दिएका हुन् ।
यसअघि बम्जनको आश्रमबाट वेपत्ता भएको भन्दै यसअघि दुई जना आनी र दुई अनुयायी बाराका सुरेस आलेमगर र मकवानपुरका सञ्चलाल वाइबा वेपत्ता भएको भन्दै उजुरी परेको छ ।
अनुयायी सञ्चलाल बाइबाको हत्या भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकस्थित बम्जन आश्रममा छापा मारेको थियो । हाल प्रहरीले बम्जन रहेको भनिएको सिन्धुलीस्थित आश्रमलाई केन्द्रित गरेर अनुसन्धान गरिरहेको छ । बम्जन अहिले सिन्धुली आश्रममा छन् ।
प्रकाशित समय १७:२४ बजे